बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको आयोजनामा बाराको सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयका प्रमुख सहसचिव रामकृष्ण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा आयोगका उपसचिव ठाकुर प्रसाद आचार्यले भ्रष्टाचारका प्रवृत्ति, त्यसका कारण र नियन्त्रणका उपायहरूबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन सबै तहका कर्मचारी तथा जनप्रतिनिधिहरूले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि नगर प्रमुख पौडेलले स्थानीय तहमा सुशासन कायम गर्न नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले अनियमितता र भ्रष्टाचारविरुद्ध सबैले आ आफनो ठाउँबाट आवाज उठाउँनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारणले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या, ढिलासुस्ती, अनियमितता र सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा राखेका थिए।
उठाइएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष पुडासैनीले उजुरी प्रणालीलाई प्रभावकारी बनाइएको, गोपनीयताको सुनिश्चितता गरिएको र प्राप्त उजुरीहरूमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो।उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्थासँगै जनचेतना अभिवृद्धि, नैतिक आचरण र संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।
साथै, नागरिकलाई अनियमितता देखिएमा निडर भएर अख्तियारमा उजुरी दिन आग्रह गर्नुभयो।कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार नियन्त्रणमा सहकार्यको आवश्यकता औंल्याउँदै सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको कार्यक्षेत्र बारा ,पर्सा ,रौतहट ,मकवानपुर ,चितवन ,दोलखा ,सिन्धुपाल्चोक ,नुवाकोट ,धादिङ्ग ,रसुवा र काभ्रेपलाञ्चोक गरी ११ वटा जिल्ला रहेका छन् । बारा जिल्लाको गत आर्थिक बर्षमा फछर्यौट हुन बाँकी २४१ वटा उजुरी र चालु आर्थिक बर्ष २०८२।०८३ को चैत्र मसान्तसम्ममा ३ सय २६ वटा उजुरी गरी ५ सय वटा उजुरी रहेका छन् ।
जसमा गत आर्थिक बर्षको ९६ वटा र चालु आर्थिक बर्षको १ सय ५० वटा गरी २ सय ४६ उजुरी फछर्यौट चालु आर्थिक बर्षको चैत्र सम्ममा भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको चालु आर्थिक बर्षको चैत्र मसान्त सम्ममा ४७ वटा उजुरी परेका छन् भने १८ वटा उजुरी फछर्यौट भएका छन् । कलैया उपमहानगगरपालिकाको चैत्र मसान्त सम्ममा ५९ वटा उजुरी परेका छन् भने ३४ वटा फछर्यौट भएका छन् ।

