पर्सामा लागुऔषधसहित ८ जना पक्राउ

साझेदारी डेलि
88 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले सञ्चालन गरेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज जारि गरेको प्रेस विज्ञप्ति अनुसार वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनमा चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइन, सेतो हिरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा विकास कुमार साह, कबिन पराजुली, सागर घिमिरे, पूजा जिम्बा, अन्जन थापा, रमेश बम्जन, राजु बानियाँ र अलिहदिन मियाँ रहेका छन्।

प्रहरीका अनुसार विकास कुमार साह र कबिन पराजुलीको साथबाट ६००–६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। त्यस्तै सागर घिमिरे र पूजा जिम्बाको साथबाट ५ ग्राम खैरो हिरोइन तथा ०.२५ मिलिग्राम सेतो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै अन्जन थापा र रमेश बम्जनको साथबाट ३ ग्राम ३७ मिलिग्राम खैरो हिरोइन तथा राजु बानियाँ र अलिहदिन मियाँको साथबाट ५३ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ। साथै विकास कुमार साह र कबिन पराजुलीको साथबाट मधेश प्रदेश ०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds