कलैयामा सार्वजनिक मन्दिरको रुख चोरी गर्नेमाथि कारबाहीको माग, स्थानीयद्वारा उजुरी दर्ता

साझेदारी डेलि
132 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित श्री राम जानकी मन्दिरको जग्गामा रहेका धार्मिक महत्वका रुखहरू अवैध रूपमा कटान गरी चोरी भएको घटना सार्वजनिक भएको छ।

स्थानीय चार जना युवाहरू गोपाल प्रसाद साह, रामनारायण यादव, जयराम प्रसाद कुशवाहा र सरोज प्रसाद कुशवाहाले संयुक्त रूपमा कलैया उपमहानगरपालिकाको कार्यालयमा निवेदन दिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।

गत २०८३ वैशाख ३० गते बिहान करिब ९ बजेको समयमा ना १ त ५७८२ नम्बरको ट्रयाक्टरमा आएका ७-८ जना अपरिचित व्यक्तिहरूको समूहले मन्दिर परिसरमा रहेका परापूर्वकालदेखिका बर र पिपलका रुखहरू जबरजस्ती काटेर लगेको निवेदनमा उल्लेख छ ।

निवेदकहरूले उक्त घटनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १४९ र १५० बमोजिमको कसुर ठहर गर्दै, संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी पक्राउ गर्न र प्रयोग गरिएको ट्रयाक्टरलाई नियन्त्रणमा लिन माग गरेका छन्।

उनीहरूले प्राकृतिक सम्पदामाथिको अतिक्रमण र सार्वजनिक सम्पत्ति विनाश सम्बन्धी कसुर अन्तर्गत विपक्षीलाई हदैसम्मको कानुनी कारबाही गर्न र चोरी भएको काठ फिर्ता गराउन माग गरेका छन्।

प्रमाणको रूपमा स्थानीयले रुख काट्दै गरेको र ट्रयाक्टरमा लोड गरी लैजाँदै गरेको भिडियो समेत उपमहानगरपालिकामा बुझाएका छन्। सो निवेदनको बोधार्थ न्यायिक समिति कलैया, जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय बारालाई समेत दिइएको छ।

Leave a review

This will close in 0 seconds