रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल स्वयं नागरिकता वितरण कार्यमा सक्रिय भएपछि उनको कार्यशैलीको चौतर्फी प्रशंसा हुन थालेको छ।
दैनिक रूपमा नागरिकता बनाउन आउने सेवाग्राहीको संख्या अत्यधिक बढेपछि सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन सिडियो भुसाल आफैं सेवामा खटिएका हुन्। प्रशासनिक नेतृत्वको जिम्मेवारी सम्हाल्दै प्रत्यक्ष रूपमा सेवाग्राहीसँग संवाद गरी नागरिकता वितरणमा सहभागी भएपछि कार्यालयमा सेवा लिन आएका नागरिकहरूले राहत महसुस गरेका छन्।
सिडियो स्वयं नागरिकता वितरणमा सक्रिय भएपछि सरकारी सेवामा जिम्मेवारीबोध, सक्रियता र जनउत्तरदायित्वको सकारात्मक सन्देश गएको स्थानीयवासीहरूको भनाइ छ। धेरै सेवाग्राहीहरूले उनको व्यवहारलाई “जनमैत्री प्रशासन” को उदाहरणका रूपमा व्याख्या गरेका छन्।
स्थानीय नागरिकहरूका अनुसार प्रशासन केवल निर्देशन दिने निकाय मात्र नभई नागरिकको समस्या बुझेर समाधान गर्ने संयन्त्र पनि हो भन्ने सन्देश भुसालको कार्यशैलीले व्यवहारमै देखाएको छ। सामाजिक सञ्जालमा समेत उनको सक्रियताको प्रशंसा भइरहेको जनाइएको छ।
“पदभन्दा सेवा ठूलो हो” भन्ने भावनाका साथ काम गरिरहेका सिडियो भुसालको पहलले सरकारी निकायप्रति नागरिकको विश्वास थप मजबुत बन्ने अपेक्षा गरिएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट तथा जिल्ला निर्वाचन कार्यालय रौतहटलगायत सरकारी निकायहरूले पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समन्वयात्मक रूपमा काम गरिरहेको बताइएको छ।


