बारा । बाराको सदरमुकाम कलैयास्थित होटल करणराज पार्टी प्यालेसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मैनुदिन अन्सारीले आफूले कानुनी प्रक्रिया पूरा गरी खरिद गरेको घरजग्गा लामो समयदेखि भोगचलन गर्न नपाएको भन्दै न्यायको माग गरेका छन् ।
अन्सारीका अनुसार कलैया उपमहानगरपालिका–३ निवासी व्यवसायी विरेन्द्र साह कानुसँगबाट साविक पिप्रासिमरा–२ स्थित किता नम्बर १६३८ को १० धुरमा बनेको दुई तल्ले घर आफ्नी श्रीमती शबनम खातुनको नाममा २०८२ जेठ १८ गते १ करोड ४३ लाख ७० हजार रुपैयाँमा खरिद गरिएको थियो । तर, जग्गा खरिदपछि समेत विरेन्द्र साहले घरजग्गा खाली नगरेको र विभिन्न बहाना बनाएर आफूलाई भोगचलन गर्न नदिएको अन्सारीको आरोप छ ।
पत्रकार सम्मेलनमा बोल्दै अन्सारीले “जग्गाको वास्तविक मूल्यभन्दा बढी रकम तिरेको भए पनि अहिले न पैसा फिर्ता पाइयो, न घरजग्गा नै प्रयोग गर्न दिइयो” भन्दै आफू अन्यायमा परेको गुनासो गरे । उनले आफूसँग सम्पूर्ण कागजात र आर्थिक कारोबारको प्रमाण सुरक्षित रहेको दाबी गर्दै एक रुपैयाँ ब्याजसमेत नलिएको बताए ।
अन्सारीले यसअघि विरेन्द्र साहले आफूविरुद्ध पत्रकार सम्मेलन गरेर लगाएका आरोप निराधार रहेको दाबी गर्दै “हुँदै नभएको कुरा सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्न खोजिएको छ” भने । साथै उनले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सुलेमान अन्सारी र जिल्ला अदालत बारामा कार्यरत राजेश यादवको घटनामा कुनै संलग्नता नरहेको स्पष्ट पारे ।
सुलेमान अन्सारी आफ्ना काका भएकाले कानुनी राय सुझाव मात्र लिएको विषयलाई समेत अनावश्यक रूपमा जोडेर बदनाम गर्न खोजिएको उनको आरोप थियो ।
उता विरेन्द्र साह कानुले यसअघि मैनुदिन अन्सारीबाट आफू ठगिएको दाबी गर्दै पत्रकार सम्मेलन गरेका थिए । तर अन्सारीले ती आरोप अस्वीकार गर्दै उल्टै आफू नै ठगिएको बताएका छन् । यससँगै एक समयको मित्रता अहिले सार्वजनिक आरोप–प्रत्यारोप र कानुनी विवादमा परिणत भएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूले घटनाबारे विभिन्न प्रश्न राखेका थिए । अन्सारीले आवश्यक परे कानुनी प्रक्रियामार्फत अगाडि बढ्ने चेतावनी दिँदै स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन् ।
उनले संविधानले दिएको आफ्नो सम्पत्तिको शान्तिपूर्ण उपभोग गर्ने अधिकार सुनिश्चित गरिदिन आग्रह पनि गरेका छन् ।


