बारामा आर्थिक गणना अन्तिम चरणमा,व्यवसायिक विस्तारको संकेत, निर्धारित लक्ष्यभन्दा बढी

साझेदारी डेलि
56 पाठक संख्या

कलैया । बारा जिल्लामा सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तिम चरणमा पुग्दा लक्ष्यभन्दा बढी व्यवसाय तथा प्रतिष्ठान अभिलेखीकरण भएका छन्। यसले जिल्लामा आर्थिक गतिविधि र व्यवसायिक विस्तार बढ्दो क्रममा रहेको संकेत गरेको छ।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार हालसम्म २१ हजार ७४ प्रतिष्ठानको विवरण संकलन भइसकेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बाराका लागि २० हजार ९ सय २१ प्रतिष्ठान गणना गर्ने लक्ष्य तोकेको थियो। तर गणना सम्पन्न हुने चरणमै लक्ष्य नाघिएको कार्यालयले जनाएको छ।

जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले प्रारम्भिक तथ्याङ्कले उद्योग, व्यापार, सेवा तथा अन्य आर्थिक क्षेत्रमा नयाँ प्रतिष्ठान थपिएको देखाएको बताउनुभयो। उहाँका अनुसार यसले जिल्लाको आर्थिक गतिविधि विस्तार हुँदै गएको पुष्टि गर्छ।

गणनाका लागि जिल्लाभर ६६ गणक र ९ सुपरिवेक्षक परिचालन गरिएको छ। उनीहरूले १६ वटै स्थानीय तहमा पुगेर उद्योग, व्यापार, होटल, सेवा, निर्माण तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानको स्थलगत विवरण संकलन गरेका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणनाबाट व्यवसायको अवस्था, रोजगारी, लगानी र उत्पादनसँग सम्बन्धित आधारभूत तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ। यस्ता तथ्याङ्क भविष्यका विकास योजना, आर्थिक नीति तथा लगानी प्रवद्र्धनका कार्यक्रम तय गर्न उपयोगी आधार बन्ने विश्वास गरिएको छ।

कार्यालयले छुटेका प्रतिष्ठानलाई समेत विवरण उपलब्ध गराई गणना कार्यमा सहयोग गर्न आग्रह गरेको छ। अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि बाराको आर्थिक अवस्थाको थप यथार्थ चित्र सार्वजनिक हुने जनाइएको छ।

Leave a review

This will close in 0 seconds