महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन बारामा महिला हिंसाका घटना रोकिएका छैनन् । अभियान सुरु भएको दिन १ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।
अभियानको पहिलो दिन मंसिर ९ गते बाराको पचरौता नगरपालिकाको कार्यालय भित्रै एक जना महिला कर्मचारीमाथि बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ ।
पचरौता नगरपालिकाको कार्यालय बेनौलीमा कार्यरत २२ वर्षीया एक महिला कर्मचारीमाथि पालिकाकै कर्मचारीले बिहीबार बलात्कार प्रयास गरेको खुलासा भएको छ ।
पचरौता नगरपालिका कार्यालयका कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेको पीडित कर्मचारी महिलाका आफन्तहरुले खुलासा गरेको हो ।
पचरौता नगरपालिका कार्यालय नजिकै कोठा लिएर बस्दैआएकी महिला आफैँ बस्ने कोठामा जाँदा कार्यालय सहयोगी पासवानले बलात्कार प्रयास गरेको पिडित महिलाले बताएकी छन् ।
कार्यालय सहयोगी पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा पीडित महिलाले किटानी जाहेरी दिएकी छन् ।
कोठामा एक्लै भएको मौका छोपी पुगेका कार्यालय सहयोगी पासवानले मंसिर ९ गते बलात्कार प्रयास गरेको पिडित महिलाले बताएकी छन् ।
घटनाबारे अनुसन्धान भइरहेको र घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँने बारा प्रहरीका प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले साझेदारी दैनिकलाई बताए ।


