उखु खेती सुधारका लागि अनुसन्धान र प्रविधिमा जोड

रञ्जन यादव
60 पाठक संख्या

बारा । राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुरले चालु आर्थिक वर्षमा बारा र रौतहट जिल्लामा सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको संयुक्त अनुगमन तथा मूल्याङ्कन गर्दै उखु खेतीको उत्पादन वृद्धि, प्रविधि विस्तार तथा किसानका समस्या समाधानका विषयमा व्यापक छलफल गरेको छ।

अनुगमनका क्रममा उखुका विभिन्न जातको उत्पादन अवस्था, रोग तथा कीराको प्रभाव, मौसमजन्य चुनौती र अनुसन्धानबाट प्राप्त उपलब्धिहरूको समीक्षा गरिएको थियो। अनुसन्धानमा संलग्न प्राविधिक तथा विज्ञहरूले उखुखेतीलाई थप उत्पादनमुखी बनाउन आवश्यक सुधारका उपायबारे समेत सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक डा. दिलराज यादवका अनुसार उन्नत जातको परीक्षण, बीउ उत्पादन, प्रविधि हस्तान्तरण तथा किसानस्तरमा भइरहेको अभ्यासको मूल्याङ्कन गर्दै आगामी कार्यदिशा तय गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उनले अनुसन्धानका नतिजा खेतबारीसम्म पुर्‍याउन सके उत्पादन र उत्पादकत्व दुवैमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

छलफलमा सहभागी किसान, कृषि प्राविधिक तथा चिनी उद्योगका प्रतिनिधिहरूले गुणस्तरीय उखुको बीउ सहज रूपमा उपलब्ध नहुनु अहिलेको प्रमुख समस्या रहेको बताएका थिए। बाह्य स्रोतबाट बीउ ल्याउँदा लागत बढ्ने र प्रक्रिया जटिल हुने भएकाले स्वदेशमै पर्याप्त बीउ उत्पादनको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।

सहभागीहरूले किसानलाई उन्नत जातबारे जानकारी अभाव हुनु, गुणस्तरीय उखु उत्पादन गरे पनि मूल्य निर्धारणमा त्यसको उचित मूल्यांकन नहुनु तथा आधुनिक खेती प्रविधिको पहुँच सीमित रहनुजस्ता विषयले उखुखेतीको विकासमा असर गरिरहेको धारणा राखेका थिए।

उखुसँगै अन्य नगदे तथा खाद्यबाली लगाएर अतिरिक्त आम्दानी लिन सकिने सम्भावना भए पनि त्यसबारे पर्याप्त जानकारी र प्राविधिक सहयोग नपुगेको विषय पनि छलफलमा उठाइएको थियो। किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी प्रदर्शन प्लट स्थापना, नियमित तालिम तथा प्रविधि प्रदर्शन कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।

त्यसैगरी बीउ, मलखाद र सिँचाइ सुविधामा सहुलियत उपलब्ध गराउन सके उत्पादन लागत घट्ने तथा किसानको आकर्षण बढ्ने निष्कर्ष निकालिएको थियो। उखुखेतीको दिगो विकासका लागि सरकारी निकाय, अनुसन्धान संस्था, चिनी उद्योग र किसानबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।

कार्यक्रमका प्राविधिक धर्मेन्द्रकुमार यादवले स्थानीय माटो, हावापानी र भौगोलिक अवस्थाअनुसार उपयुक्त जात छनोट गरी खेती विस्तार गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनका कारण उखुबालीमा देखिएका प्रभावबारे थप अध्ययन र अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।

संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रमको अवसरमा उखुखेतीमा श्रम र समय बचत गर्न सहयोग पुग्ने विभिन्न कृषि यान्त्रिक उपकरणहरूको प्रदर्शनसमेत गरिएको थियो। प्रदर्शनमार्फत आधुनिक प्रविधिको प्रयोगले उत्पादन लागत न्यूनीकरण र गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने जानकारी सहभागीहरूलाई प्रदान गरिएको थियो।

कार्यक्रमले अनुसन्धान, प्रविधि र किसानबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै उखुखेतीलाई व्यवसायिक तथा प्रतिस्पर्धी कृषि उद्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

Leave a review

This will close in 0 seconds