जसपा नेपाल रौतहटको अध्यक्षमा दुईपक्षीय भिडन्त

साझेदारी दैनिक
423 पाठक संख्या

गौर : ओम प्रकाश यादव/ जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ।

जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको नयाँ नेतृत्व चयनका लागि विहीबार हुने निर्वाचनमा बुधकार बेलुका उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो ।

उम्मेदवारी मनोनयन दर्ता गराउन दिइएको समयसीमा भित्रमा जिल्ला अध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष श्याम विहारी यादव र पूर्व मेयर राजीव रंजन यादव भन्ने राजु यादवले अध्यक्षमा उम्मेदवारी दिएका हुन ।

अध्यक्षमा जम्मा दुईजनाको उम्मेदवारी परेसँगै अब अध्यक्षमा श्याम विहारी र राजीव रंजन बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै जना उम्मेदवार राजनीतिमा ठूलो पकड़ बनाएका नेता भएको कारण दुवैजना बीच कडा प्रतिस्पर्धा हुने कार्यकर्ताहरुको भनाई छ ।

त्यस्तै जसपा जिल्ला उपाअध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। दुईजना जिल्ला उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको हो। उपाध्यक्षमा अम्रुल हक, अमृतलाल चौधरी,राम ईश्वर यादव र पारस भण्डारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको जनाईएको छ ।

यस्तै पार्टीको सचिव पदका लागि शम्भु प्रसाद यादव र जयराम महतोले उम्मेदवारी दिएका छन्। दुईजना सह सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। उपेन्द्र राय,दीपेन्द्र पटेल र मोहमद प्रवेज आलमले सह सचिवमा उम्मेदवारी दिएका छन्।

यता कोषाध्यक्ष पदका लागि ब्रिज मोहन साह र सुरेन्द्र बैठाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै खुल्ला र समावेशी गरी सदस्य पदका लागि कुल ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

भोलि बिहान ८ बजेदेखि मतदान हुने बताइएको छ। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको नयाँ नेतृत्व चयनका लागि दुईदिन देखि प्रथम जिल्ला अधिवेशन गरुडामा जारी छ।

अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए। नयाँ नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष यादवले जिल्लाका केन्द्रीय नेताहरुलाई दिएर आज दिउँसो रौतहटबाट सर्लाही गएका थिए।

नयाँ नेतृत्व छान्न १० सदसिय अध्यक्ष मण्डल चयन गरिएको थियो। पार्टी उपाध्यक्ष गोविन्द चौधरी,केन्द्रीय सदस्य योगेन्द्र राय यादव सहित १० जना केन्द्रीय नेतालाई अध्यक्ष मण्डलमा समावेश गरिएको छ।

उक्त अध्यक्ष मण्डलले सर्वसम्मतिले नै नयाँ कार्य समिति चयन गर्ने अथक प्रयास गरेपनि प्रयास विफल भएको थियो। जिल्ला अध्यक्षको आकांक्षी को संख्या बढी भएको कारण सहमति हुन् नसक्दा अन्तत निर्वाचन प्रक्रिया सुरु भएको छ।

बुधबार बिहान ८ बजेदेखि महाधिवेशन स्थल गरुडा स्थित एन प्लाजा होटलमा मतदान सुरु हुने छ। मतदानको समय दिउँसो २ बजेसम्मका लागि तोकिएको छ। त्यसपछि भोलि नै मतगणना सुरु भइ अन्तिम मत परिणाम पनि भोलि बेलुका नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ।

Leave a review