बारामा बालबालिकामाथि दुव्र्यवहार गर्ने चार महिला पक्राउ

साझेदारी डेलि
193 पाठक संख्या

निजगढ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीमा मोबाइल हराएको विषयलाई लिएर चार जना बालबालिकालाई सार्वजनिक स्थानमै बाँधेर कुटपिट गरिएको घटनामा संलग्न चार महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार असार १६ गते बिहान करिब ९ बजे स्थानीय चौतारामा केही बालबालिकामाथि मोबाइल चोरी गरेको आरोप लगाइयो। त्यसपछि उनीहरूलाई बरको रुखमा डोरीले बाँधेर शारीरिक दुव्र्यवहार गरिएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान सुरु गरेको जनाएको छ।

अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आरोपमा जितपुरसिमरा–१६ की ६२ वर्षीया मिना राजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान तथा ४२ वर्षीया निर्मला वाईलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्ध हुने कसूर सम्बन्धी कानुनी व्यवस्था अनुसार मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले कुनै पनि व्यक्ति दोषी वा निर्दोष भन्ने विषय कानुनी प्रक्रियाबाट मात्रै टुंगो लाग्ने भएकाले शंका वा आरोपकै आधारमा कसैलाई, विशेषगरी बालबालिकालाई, आफैंले सजाय दिने वा हिंसात्मक व्यवहार गर्ने कार्य कानुनविपरीत हुने स्पष्ट पारेको छ। यस्ता घटना देखिए वा जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न पनि सर्वसाधारणसँग आग्रह गरिएको छ।

Leave a review

This will close in 0 seconds