सिमरा । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय सिमराको स्थलगत निरीक्षण गर्दै शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा उहाँसँग नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर पनि सहभागी हुनुहुन्थ्यो। टोलीले कार्यालयको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन, अभिलेख प्रणाली, हिरासत कक्ष, परिसरको सरसफाइ तथा समग्र कार्यसम्पादनको अवलोकन गरेको थियो।
निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्री, मातहतका प्रहरी इकाइका प्रमुख तथा अन्य प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी अधिकारीले सीमावर्ती क्षेत्र हुँदै हुने लागुऔषध कारोबार, अवैध भन्सार छली, तस्करी तथा संगठित अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो। यस्ता गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन नियमित गस्ती, भरपर्दो सूचना संकलन, अनुसन्धान क्षमता अभिवृद्धि तथा सम्बन्धित निकायसँगको समन्वयलाई सुदृढ बनाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले प्रहरी सेवालाई थप नागरिकमुखी बनाउन सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिँदै कार्यालयमा बिचौलियाको प्रवेश कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। साथै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, संगठनको आचारसंहिताको पूर्ण पालना तथा व्यावसायिक अनुशासनलाई उच्च प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभयो।


