जनकल्याण सहकारीको २१ औँ साधारणसभा सम्पन्न,आर्थिक वर्ष २०८२/०८३ मा ७७ लाख ३७ हजारभन्दा बढी नाफा

रञ्जन यादव
27 पाठक संख्या

जीतपुर । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीतपुरको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपालसिंह कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ७७ लाख ३७ हजार ५०२ रुपैयाँ नाफा आर्जन गरेको जानकारी गराइएको छ।

साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थाको कुल सम्पत्ति तथा दायित्व १६ करोड ७९ लाख ३४ हजार २५६ रुपैयाँ रहेको छ। संस्थाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट करिब १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको कोषाध्यक्ष किरणप्रकाश गिरीले जानकारी दिए।

सभामा संस्थाको प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेस गरिएको संस्थाका उपाध्यक्ष गणेशजी प्रसादले जानकारी दिए।

साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोष तथा कर्मचारी बोनस कोषको वितरणलगायतका प्रस्ताव अनुमोदनका लागि पेस गरिएका थिए। सभाले प्रस्तुत सबै प्रस्तावमाथि छलफल गरी अनुमोदन गरेको संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादबले बताए।

संस्थाले सदस्यको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै सहकारीको वित्तीय अवस्था थप सुदृढ बनाउने, सदस्यलाई प्रभावकारी सेवा उपलब्ध गराउने तथा आगामी दिनमा संस्थाको कारोबार र सेवा विस्तार गर्ने लक्ष्य अघि सारेको संस्थाका सचिव कपिलदेव प्रसाद यादबले जानकारी दिए।

साधारणसभामा सञ्चालक समितिका सदस्य मुन्नी कुमारी न्यौपाने, लेखा सुपरिवेक्षण समिति संयोजक श्यामकृष्ण सुबेदी, शेयर सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको विगतको प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो। कार्यक्रमको सञ्चालन सहप्रबन्धक आत्माराम अधिकारीले गरेका थिए।

Leave a review