जीतपुरसिमरामा बैंक, बीमा कम्पनी र उद्यमीबीच सहकार्यको बहस

साझेदारी डेलि
170 पाठक संख्या

जीतपुर । स्थानीय स्तरका लघु उद्यमीलाई सहज वित्तीय सेवा उपलब्ध गराउने तथा व्यवसाय विस्तारका लागि आवश्यक बैंकिङ र बीमा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकामा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ।

उपमहानगरपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणका लागि सञ्चालन भइरहेको लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा नगरभित्र रहेका वाणिज्य बैंक, वित्तीय संस्था, लघुवित्त संस्था, बीमा कम्पनीका प्रतिनिधिसँगै विभिन्न क्षेत्रमा संलग्न लघु उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा वरिष्ठ लघु उद्यम विकास सहजकर्ता दीपनारायण रायले उद्यमीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतसँग जोड्नु, वित्तीय साक्षरता अभिवृद्धि गर्नु तथा बैंकिङ र बीमा सेवाबारे व्यावहारिक जानकारी दिनु कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए।

बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले सहुलियतपूर्ण कर्जा योजना, ऋण प्राप्तिका प्रक्रिया, आवश्यक कागजात, बचतको महत्व तथा व्यवसाय विस्तारका सम्भावनाबारे प्रस्तुति दिएका थिए। त्यस्तै, बीमा कम्पनीका प्रतिनिधिहरूले व्यवसायमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि बीमाको आवश्यकता र त्यसबाट प्राप्त हुने सुरक्षाबारे जानकारी गराएका थिए।

छलफलका क्रममा उद्यमीहरूले कर्जा लिनुपर्ने प्रक्रिया, आवश्यक मापदण्ड, बीमा सम्बन्धी अन्योल तथा व्यवहारिक कठिनाइबारे प्रश्न राखेका थिए। सम्बन्धित संस्थाका प्रतिनिधिहरूले सहभागीका जिज्ञासाको उत्तर दिँदै सेवा प्रवाहका विषयमा स्पष्ट जानकारी दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले लघु उद्यम स्थानीय आर्थिक समृद्धि र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले उद्यमीहरूले वित्तीय संस्थासँग जिम्मेवारीपूर्वक र पारदर्शी ढंगले कारोबार गर्नुपर्नेमा जोड दिँदै ऋण लिँदा व्यवसायिक योजना, लगानीको उद्देश्य र भुक्तानी क्षमताको यथार्थ मूल्याङ्कन गर्न सुझाव दिए।

उनले बैंक तथा बीमा कम्पनीले उपलब्ध गराउने सेवा–सुविधाबारे पर्याप्त जानकारी लिएर मात्र वित्तीय निर्णय गर्नुपर्ने बताउँदै नियमित बचत, समयमै ऋण चुक्ता गर्ने बानी र व्यवसायको बीमा गर्न सके उद्यमलाई दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउन सकिने धारणा व्यक्त गरे। उनले सहभागी सबै उद्यमीलाई व्यवसायिक सफलताको शुभकामना पनि दिएका थिए।

सहभागी उद्यमीहरूले यस्ता कार्यक्रमबाट वित्तीय सेवाप्रति आफ्नो बुझाइ अझ स्पष्ट भएको, सहुलियत कर्जा तथा बीमा सम्बन्धी नयाँ जानकारी प्राप्त भएको र व्यवसाय विस्तारका लागि थप उत्साह मिलेको प्रतिक्रिया दिएका थिए।

उपमहानगरपालिकाले उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय पहुँच विस्तार तथा बजार व्यवस्थापनसँग सम्बन्धित कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

Leave a review

This will close in 0 seconds