जीतपुरसिमरा उपमहानगरपालिकाले बजारमै पुगेर कपडाका झोलाको प्रवर्द्धन गर्दै

साझेदारी डेलि
117 पाठक संख्या

सिमरा । प्लास्टिकजन्य फोहोर न्यूनीकरणसँगै स्थानीय महिला उद्यमीलाई बजारसँग जोड्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले कपडाका झोलाको प्रवद्र्धन अभियानलाई तीव्रता दिएको छ। उपमहानगरपालिकाले उत्पादन स्थलमै सीमित रहेका झोलालाई बजारसम्म पुर्‍याउने पहलस्वरूप व्यवसायीहरूमाझ प्रत्यक्ष पुगेर यसको प्रयोग बढाउन आग्रह गर्न थालेको हो।

उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा रहेको टोलीले जीतपुर र सिमरा बजारका विभिन्न व्यापारिक प्रतिष्ठानको भ्रमण गर्दै प्लास्टिकका झोलाको विकल्पका रूपमा स्थानीय महिलाले उत्पादन गरेका कपडाका झोला प्रयोग गर्न अनुरोध गरेको छ। टोलीले वातावरण संरक्षणसँगै स्थानीय उद्यमको प्रवद्र्धनका लागि यस्ता झोलाको प्रयोग प्रभावकारी हुने सन्देश पनि दिएको थियो।

प्रवद्र्धन गरिएका झोला जीतपुरसिमरा–९ छातापिपरामा रहेको छातापिपरा गार्मेन्ट समूह मा आबद्ध महिलाले उत्पादन गरेका हुन्। उनीहरूले उपमहानगरपालिकाको उद्यम विकास शाखामार्फत सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सिलाइ–कटाइ तथा गार्मेन्टसम्बन्धी तालिम लिएपछि व्यवसाय सञ्चालन गर्दै आएका छन्।

उद्यम विकास शाखाका वरिष्ठ लघु उद्यम सहजकर्ता दिपनारायण रायका अनुसार तालिम प्रदान गर्नु मात्र पर्याप्त नहुने भएकाले उत्पादनलाई बजारसम्म पु¥याउने जिम्मेवारी पनि स्थानीय सरकारले लिन थालेको हो। उत्पादन बिक्री हुन नसके उद्यम टिकाउन कठिन हुने भएकाले बजार प्रवद्र्धन अभियान सञ्चालन गरिएको उनले बताए।

उनका अनुसार अभियानको मुख्य उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमीको आम्दानी वृद्धि तथा वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्नु हो। पुनः प्रयोग गर्न मिल्ने कपडाका झोलाले प्लास्टिकजन्य प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बजार अनुगमन तथा प्रवद्र्धनका क्रममा भेटिएका व्यवसायीहरूले पनि स्थानीय महिलाले उत्पादन गरेका झोला खरिद तथा प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उपमहानगरपालिकाले आगामी चरणमा विद्यालय, सरकारी कार्यालय, सहकारी तथा विभिन्न सामाजिक संस्थामार्फत समेत कपडाका झोलाको प्रयोग विस्तार गर्ने योजना बनाएको जनाएको छ।

केही समययता जीतपुरसिमरा उपमहानगरपालिकाले “प्लास्टिकमुक्त नगर” अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। सोही अभियानअन्तर्गत प्लास्टिकका झोलाको प्रयोग निरुत्साहित गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा वातावरण संरक्षणसँगै महिला उद्यमीको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

उपमहानगरपालिकाको विश्वास छ, स्थानीय उत्पादनको प्रयोग बढ्दै गएमा महिला उद्यमीको आयआर्जनमा वृद्धि हुनुका साथै रोजगारी सिर्जना, उद्यमशीलताको विस्तार र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणमा समेत सकारात्मक योगदान पुग्नेछ।

Leave a review

This will close in 0 seconds