उखु खरिदमा उद्योगीको सिन्डिकेट विरुद्ध रौतहटका किसानद्वारा आन्दोलनको घोषणा

Om Prakash Yadav
326 पाठक संख्या

रौतहट : मधेश प्रदेशमा सञ्चालित चिनी उद्योगीहरुले उखु खरिद बिक्रीका नाममा लगाएको सिन्डिकेटको विरोधमा आन्दोलनको घोषणा गरिएको छ। रौतहटका उखु किसानहरुका अनुसार रौतहट, बारा, पर्सा र सर्लाही जिल्लामा सञ्चालित चिनी उद्योगहरुले आपसी सहमति गरेर सिन्डिकेट लागु गरिएको छ। आफ्नै जिल्लाभित्र मात्र उखु खरिद गर्ने निर्णय चिनी उद्योगहरुले लागू गरेपछि किसान आन्दोलनका लागि बाध्य भएका हुन्।

चिनी उद्योगहरुले आफना आफना जिल्ला बाहेक अर्को जिल्लाको उखु खरिद नगर्ने तथा एक जिल्लाको उखु अर्को जिल्लाको उद्योगले खरिद नगर्ने भएपछि एक जिल्लाको किसान अर्को जिल्लाको उद्योगलाई उखु बिक्री गर्न नपाउने भएका छन्। उद्योगीहरुको यस्तो निर्णयले रौतहटका उखु किसानहरु निकै आक्रोसित भएका हुन्।

उखु खरिद बिक्रीका लागि चिनी उद्योगहरुले लगाएको सिन्डिकेटका कारण रौतहटका किसानहरु अन्य जिल्लाको चिनी उद्योगलाई उखु बिक्री गर्न नपाउने भएका छन्। रौतहटमा एक मात्र सञ्चालित चिनी उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उद्योगलाई मात्र उखु बिक्री गर्नुपर्ने बाध्यता रौतहटका किसालाई भएको छ । व्यापारिक स्वतन्त्रता कुण्ठित भएको किसानहरुको गुनासो छ।

फतुवा विजयपुर नगरपालिका–९, विजयपुर बजारमा सयौंको संख्यामा बुधबार भेला भएका उखु किसानहरुले चिनी उद्योगीहरुले आफुखुसी लगाएको सिन्डिकेट तत्काल खारेज गर्न माग गरेका छन्। सिन्डिकेट नहटाइए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रप्रसाद यादवले उखु खरिदका नाममा लगाएको सिन्डिकेट अविलम्ब खारेज हुनुपर्ने बताए। फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी शिवपुजन यादवले पनि किसानले आफ्नो उखु चाहेको उद्योगमा बिक्री गर्न पाउने स्वतन्त्रता हुनुपर्ने धारणा राखे। फतुवा विजयपुर नगरपालिका–९ का वडा अध्यक्ष राकेश यादव (पप्पु यादव)ले पनि उद्योगीहरुले सिन्डिकेट लगाएर किसानहरुमाथि अन्याय गरेको आरोप लगाए।

भेलामा सहभागी किसानहरुले तत्कालका लागि बाबा बैजुनाथ सुगर चिनी मिललाई उखु बिक्री नगर्ने निर्णय गरेका छन्। समाधान ननिस्केसम्म काटिसकिएको उखु खेतमै राख्ने र काट्न बाँकी उखु मिललाई नदिने निर्णय गरिएको छ। सिन्डिकेटविरुद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। आन्दोलनको पहिलो चरणमा एक उखु उत्पादक किसान संघर्ष समिति गठन गरी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई ज्ञापनपत्र बुझाउने निर्णय उक्त अवसरमा गरिएको छ।

कांग्रेसका युवा नेता ज्ञानेन्द्रप्रसाद यादवको अध्यक्षतामा समिति गठन गरिएको हो। गठित १० सदस्यीय संघर्ष समितिको उपाध्यक्षमा कुमार शिवाकोटी, सचिवमा राजकरण राय यादव, कोषाध्यक्षमा सुरेश यादव,सदस्यहरुमा लालबाबु पटेल, बिजय अधिकारीलगायत रहेका छन्। संघर्ष समितिले माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजका उद्योगपति बैजु प्रसाद बाबराले भने आफ्नो उद्योगले किसानहरुमाथि कुनै पनि प्रकारको सिन्डिकेट नलगाएको दाबी गरेका छन्।

Leave a review

This will close in 0 seconds