कार्यालयमा ताल्चा, निजी घरबाट करोडौँको चेक वितरणको प्रयास : गरुडाका प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी प्रहरी नियन्त्रणमा

Subash Kumar Mishra
99 पाठक संख्या

गरुडा । आर्थिक वर्षको अन्तिम दिन रौतहटको गरुडा नगरपालिकामा सरकारी कार्यालय बन्द राखेर निजी घरबाट योजनाको भुक्तानी प्रक्रिया सञ्चालन गरिएको विषय सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी प्रहरीको नियन्त्रणमा परेका छन्। घटनाले स्थानीय तहको वित्तीय पारदर्शिता र प्रशासनिक जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरीका अनुसार नगरपालिकाको कार्यालयमा बिहानै ताल्चा लगाइएपछि प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने कार्यालयबाट करिब १५ किलोमिटर टाढा दुर्गाभगवती गाउँपालिका–मत्सरीस्थित स्वास्थ्य शाखा प्रमुख प्रविण झाको निजी निवासमा पुगेका थिए। त्यही स्थानमा लेखा शाखाका कर्मचारी सत्यनारायण सहनीमार्फत विभिन्न विकास योजनाको भुक्तानीसम्बन्धी चेक तयार पार्ने र वितरण गर्ने काम भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले आर्थिक कारोबार कार्यालयबाटै कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गर्न पटक–पटक निर्देशन दिइएको भए पनि त्यसको बेवास्ता गरिएको आरोप लगाए। उनका अनुसार केही कर्मचारी र जनप्रतिनिधिको समन्वयमा कार्यालयबाहिरबाटै भुक्तानी प्रक्रिया अघि बढाइएको थियो।

नगर प्रमुख जयसवालले अधिकांश विकास योजनाको कार्यान्वयन र भुक्तानी प्रक्रिया प्रमुख प्रशासकीय अधिकृतको नियन्त्रणमा केन्द्रित भएको दाबी गर्दै कतिपय योजना पूर्ण रूपमा सम्पन्न नभइसकेको अवस्थामा समेत सम्पूर्ण रकम निकासा गर्ने तयारी भइरहेको सूचना प्राप्त भएपछि प्रशासनलाई जानकारी गराइएको बताए।

उनले नगरपालिकाको नियमित प्रशासनिक कामकाज प्रभावित हुने गरी कार्यालय बन्द गरिएको र आफूले कार्यालयमै उपस्थित भएर काम सञ्चालन गर्न आग्रह गर्दा पनि प्रमुख प्रशासकीय अधिकृतले त्यसलाई अस्वीकार गरेको उल्लेख गरे।

घटनापछि रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रारम्भिक अध्ययनबाट वित्तीय अनुशासन र प्रशासनिक प्रक्रियाको उल्लङ्घन भएको देखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि आवश्यक विभागीय कारबाहीका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए।

सरकारी कार्यालयको औपचारिक प्रक्रिया छाडेर निजी निवासबाट सार्वजनिक रकमको भुक्तानी प्रक्रिया सञ्चालन गरिएको विषयलाई गम्भीर रूपमा लिइएको जनाउँदै सम्बन्धित निकायले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a review

This will close in 0 seconds