जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।
मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गर्नुभयो । कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ ।
साथै आजको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारको विनियोजन विद्येयक २०८३ प्रस्तुत गर्नुभयो । यस्तै बैठकमा प्रदेशसभा सदस्य रविन्द्र श्रेष्ठले पेश गर्नुभएको मधेश प्रदेशसभा नियमवलीको नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख यादवले घोषणा गर्नुभयो । सो दुबै उपनियम निलम्ब भएसँगै सभामुख यादवले आजको कार्यसूचीमा रहेका अन्य विषयहरु हटाउनुभयो ।
प्रदेशसभाको अर्काे बैठक यही असार ३० गते मंगलवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
यही असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विद्येयकमाथिको छलफल गर्न असार १७ गते आह्वान गरेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको मागसहित बैठक अवरुद्ध गरेपछि सभामुख यादवले बैठक अर्काे सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रबद्र्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु. ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।


