बारा। नयाँ राहदानी प्रणालीमार्फत सेवा प्रवाहका क्रममा प्राविधिक समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय बाराले राहदानीसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
कार्यालयले सोमबार जारी गरेको सार्वजनिक सूचनाअनुसार राहदानी विभागले सेवाग्राहीको सुविधा लक्षित गर्दै मिति २०८३ असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली लागू गरेको थियो। तर प्रणाली सञ्चालनको सुरुवाती चरणमै अप्रत्याशित प्राविधिक समस्या उत्पन्न भएपछि राहदानी आवेदन दर्ता, लाइभ इनरोलमेन्ट, बायोमेट्रिक संकलन तथा डाटा प्रोसेसिङ सम्बन्धी सम्पूर्ण कार्यहरु स्थगित गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बाराले राहदानी विभागका प्राविधिक टोलीले समस्या समाधान गरी नयाँ प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक कार्य गरिरहेको जनाएको छ। प्रणाली पूर्ण रूपमा सुचारु हुनेबित्तिकै कार्यालयको आधिकारिक फेसबुक पेज, वेबसाइट तथा सूचना पाटीमार्फत सेवाग्राहीलाई जानकारी गराइने सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले नयाँ प्रणाली कार्यान्वयनका क्रममा उत्पन्न भएको प्राविधिक समस्याका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि अनुरोध गरेको छ।
राहदानी सेवासम्बन्धी थप जानकारी वा आवश्यक सहजीकरणका लागि राहदानी विभाग तथा जिल्ला प्रशासन कार्यालय बाराले उपलब्ध गराएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाएको छ।


