बारा । गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता हुने जानकारी पाएपछि मिटरब्याज पीडितहरूको ‘पैदल न्याय मार्च’ बाराको निजगढमा रोकिएको छ।
असार २५ गते धनुषाको जनकपुरधामस्थित तिरोतियागाछीबाट न्यायको माग गर्दै काठमाडौंतर्फ पैदल यात्रा थालेका पीडितहरू सोमबार साँझ निजगढ पुगेका थिए। उनीहरूले राति निजगढ उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेका थिए।
“हामी आज बिहान पुन:पैदल मार्चमा निस्किसकेका थियौं। करिब दुई सय मिटर अघि पुगेपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दियो,” पीडित संघर्ष समितिका नेता मनोज पासवानले भने, “त्यसपछि हामी फर्केर पुनः उद्योग वाणिज्य संघको सभाहलमै बसेका छौं।”
पीडितहरूले आफूहरूको मागबारे गृहमन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने अपेक्षासहित हाल निजगढमै प्रतीक्षारत रहेको बताएका छन्।
स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङ केही बेरमै सिमरा विमानस्थल पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि निजगढमा मिटरब्याज पीडितहरूसँग भेटघाट तथा छलफल हुने जनाइएको छ।


