जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ मा प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सोमबार गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले सोमबार दिउँसो करिब २ बजे पहाडी टोलमा शंकास्पद रूपमा हिँडिरहेका स्थानीय २५ वर्षीय विदेशी ठाकुरलाई नियन्त्रणमा लिएको थियो। उनको शरीर तथा साथमा गरिएको खानतलासीका क्रममा थोरै परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा लागूऔषध परीक्षणका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ। बरामद लागूऔषधको स्रोत र त्यससँग जोडिएका अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन अपराह्न जितपुरसिमरा–७ कै सिधरी टोलमा गरिएको अर्को कारबाहीमा स्थानीय ३७ वर्षीय दिवेन्द्र बैठालाई २ किलो ७५४ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा गाँजा बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो।


