बारामा सशस्त्र प्रहरीद्वारा छापामारीबाट १६३ बोरा केराउ बरामद,भ्याट बिल हुँदाहुँदै छापा मारेको भन्दै व्यवसायीको आपत्ति

साझेदारी डेलि
47 पाठक संख्या

बारा । बाराको पचरौता नगरपालिका–६ पकडियास्थित रौनियार गल्ला तथा खाद्यान्न भण्डारबाट ठूलो परिमाणमा हरियो केराउ बरामद भएपछि व्यवसायी पक्षले घटनाप्रति आपत्ति जनाएको छ। व्यवसायी पक्षले आफूहरूसँग केराउ खरिदको बिल, भ्याट बिललगायत आवश्यक कागजात रहेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

शुक्रबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले पचरौता–६ पकडियास्थित सचितानन्द रौनियारको गल्ला तथा खाद्यान्न भण्डारमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा १६३ बोरा अर्थात् ८ हजार १५० किलो हरियो केराउ बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए। उनका अनुसार बरामद केराउको मूल्य ७ लाख ३३ हजार ५०० रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ ।

व्यवसायी पक्षले भने केराउ खरिद गरी गोदाममा राखिएको र त्यसको खरिद बिल, भ्याट बिललगायत आवश्यक कागजात आफूसँग रहेको दाबी गरेको छ। राजनीतिक पूर्वाग्रहका कारण गलत सूचना दिइएको आरोप लगाउँदै व्यवसायी पक्षले कागजात हुँदाहुँदै सामान नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएको हो।

व्यवसायी पक्षले खरिद बिल, भ्याट बिल तथा अन्य कागजातको निष्पक्ष परीक्षण गरी केराउको वास्तविक अवस्था यकिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। कागजात वैध रहेको पुष्टि भए नियन्त्रणमा लिइएको सामान कानुनबमोजिम फिर्ता गर्नसमेत आग्रह गरिएको छ।

यता, सशस्त्र प्रहरीले भने विशेष सूचनाका आधारमा खानतलासी गरी केराउ बरामद गरिएको जनाएको छ। सूचना अधिकारी अधिकारीका अनुसार बरामद गरिएको हरियो केराउ कुन उद्देश्यले गोदाममा राखिएको थियो र त्यसको आयात तथा भण्डारण वैधानिक हो वा होइन भन्ने विषय अब भन्सार कार्यालयबाट परीक्षण हुने छ। उनले केराउ प्रतिबन्धित वा अवैध रूपमा राखिएको हो कि वैध कागजातसहित राखिएको हो भन्ने विषय भन्सार कार्यालयबाट हुने जाँच तथा कागजात परीक्षणपछि मात्र यकिन हुने बताए।

Leave a review