कोल्हबीमा कांग्रेस इतर समूहको क्षेत्रीय अधिवेशन सम्पन्न, पूर्वमन्त्री उमाकान्त चौधरीद्वारा विशेष महाधिवेशनको आलोचना

साझेदारी डेलि
99 पाठक संख्या

कोल्हबी । धिरेन्द्र पनुहर/ नेपाली कांग्रेसको इतर समूहको १५ औँ क्षेत्रीय अधिवेशन शनिबार बाराको कोल्हबीस्थित तामागढी पार्टी प्यालेसमा सम्पन्न भएको छ। शोभिलाल मण्डलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमाकान्त चौधरीले गमलामा पानी हालेर गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले नेपाली कांग्रेसको ऐतिहासिक योगदान, पार्टीको वर्तमान अवस्था, विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।

उहाँले नेपाली कांग्रेसको स्थापना २००७ सालमा भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईमा बसोबास गर्ने सम्पूर्ण जातजाति तथा समुदायको भावना र पहिचानलाई सम्मान गर्दै आएको पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो। देशमा संविधान निर्माणदेखि सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनसमेत नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो।

पूर्वमन्त्री चौधरीले पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र नेतृत्वबीचको असमझदारीले कांग्रेसलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो। विशेष महाधिवेशनकै कारण प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षा नगरेको हार बेहोर्नुपरेको दाबी गर्दै त्यसको नैतिक जिम्मेवारी गगन थापाले लिनुपर्ने उहाँले बताउनुभयो।

“आफ्ना अग्रज नेताहरूको अपमान गर्ने व्यक्ति सच्चा कांग्रेसी हुन सक्दैन,” भन्ने धारणा राख्दै चौधरीले पार्टीभित्र अनुशासन, एकता र अग्रज नेताहरूप्रतिको सम्मान कायम हुनुपर्नेमा जोड दिनुभयो।

विशेष महाधिवेशन र नियमित महाधिवेशनबीचको विषयमा चर्चा गर्दै उहाँले पद र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनेहरू विशेष महाधिवेशन पक्षमा गएको आरोप लगाउनुभयो। पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक हमलाको प्रसङ्ग उल्लेख गर्दै चौधरीले उक्त घटनाको समयमा विशेष महाधिवेशन गराउनुमा गगन थापा र विश्वप्रकाश शर्माको स्वार्थ रहेको आफूलाई लागेको धारणा व्यक्त गर्नुभयो।

सभापतिमाथि हमला हुँदा महामन्त्री गगन थापाले निर्वाह गरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले त्यसको परिणामस्वरूप मधेश प्रदेशमा नेपाली कांग्रेस कमजोर बनेको दाबी गर्नुभयो। नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरू नै वास्तविक कांग्रेस भएको जिकिर गर्दै चौधरीले पार्टीको मूल्यमान्यता, विधि र विधानअनुसार अघि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई बलियो बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने तथा आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउने विषयमा छलफल गरेका थिए।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर देखिएको मतभेदका बीच सम्पन्न यस क्षेत्रीय अधिवेशनलाई पार्टीको आन्तरिक राजनीतिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

अधिवेशनमा बारा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल विद्यार्थी संघ, तरुण दल, क्रियाशील सदस्यलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कोल्हबी नगर कमिटीका पूर्वसभापति वीरेन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सूर्य पौडेलले गर्नुभएको थियो।

Leave a review