सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई ९.८१ प्रतिशत सेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ। संस्थाको १९ औँ वार्षिक साधारणसभाले सेयर लाभांशसँगै सदस्यको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट समेत रकम उपलब्ध गराउने निर्णय गरेको हो।
साधारणसभाको निर्णयअनुसार संस्थाबाट कर्जा लिएर नियमित किस्ता बुझाउँदै आएका सदस्यले आफूले तिरेको ब्याजको २.७५ प्रतिशत रकम फिर्ता पाउनेछन्। त्यस्तै, संस्थामा बचत गरी ब्याज प्राप्त गरेका सदस्यलाई आफूले पाएको ब्याजको ३.७० प्रतिशतका दरले रकम फिर्ता गरिने संस्थाले जनाएको छ। सेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण आगामी २७ गते मंगलबारदेखि सुरु हुने जनाइएको छ।
संस्थाका ज्येष्ठ सदस्य देवीभक्त लम्सालको प्रमुख आतिथ्यता तथा अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको थियो। संस्थाका अनुसार साधारणसभामा सेयर सदस्यबाहेक अन्य व्यक्तिलाई आमन्त्रण गरिएको थिएन।
२०६४ साल जेठ २० गते स्थापना भएको हातेमालो साकोसमा हाल चार हजार दुई सय सेयर सदस्य छन्। संस्थाले दुईवटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। संस्थाको कुल सम्पत्ति ७० करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने बचत निक्षेप ४८ करोड ९२ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।
साधारणसभाका क्रममा संस्थाले ८० जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो। सभाले संस्थाको कारोबारमा नियमित सहभागी हुन, बचत गर्ने बानीलाई निरन्तरता दिन तथा कर्जाको किस्ता समयमै भुक्तानी गर्न सदस्यलाई आग्रह गरेको छ। कार्यक्रमको सञ्चालन राजु गौतमले गरेका थिए।


