पूर्वमन्त्री साहद्वारा सिदेश्वर संस्कृत विद्यालयको आठ कोठे भवन शिलान्यास

संदिप प्रसाद यादव
135 पाठक संख्या

बारा । पूर्व कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बारा–३ की निवर्तमान प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साहले बाराको कलैया उपमहानगरपालिका-३ भवानीपुरस्थित श्री सिदेश्वर संस्कृत माध्यमिक विद्यालयको आठकोठे भवनको शिलान्यास गरेकी छन्।

सोमबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच पूर्वमन्त्री साहले १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको शिलान्यास गरेकी हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्येष्ठ नागरिक भदै रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साह प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै साहले आफू सांसद रहेका बेला सिदेश्वर संस्कृत माध्यमिक विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ र दुर्गा माध्यमिक विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ गरी कुल ३ करोड रुपैयाँ बजेट विनियोजन गराउन पहल गरेको बताइन्।

उनले सिदेश्वर संस्कृत विद्यालय बाराको ऐतिहासिक शैक्षिक संस्थामध्ये एक रहेको बताउदै यसको विकासलाई विशेष प्राथमिकता दिएको बताइन्। सांसद हुँदा विद्यालयको अनुगमन गर्ने क्रममा विद्यार्थीहरूलाई बस्नका लागि पर्याप्त तथा उपयुक्त कोठा नभएको अवस्था देखेपछि भौतिक पूर्वाधार सुधारका लागि पहल गरेको उनले बताइन् । संस्कृत शिक्षालाई प्रोत्साहन गर्दै विद्यार्थीको संख्या बढाउन हामी सबैले मिलेर काम गर्नुपर्छ,’ पुर्वमन्त्री साहले भनिन्।

उनले भवन निर्माणको काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सरकारको उतारचढावका कारण निर्माण प्रक्रिया ढिलो भएको बताइन्। निर्माण कार्यको गुणस्तर र प्रगतिबारे जानकारी लिन अभिभावक, विद्यार्थी तथा शिक्षकलाई समय–समयमा अनुगमन गर्न पनि उनले आग्रह गरिन्।

विद्यालयको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै साहले शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच नियमित छलफल आवश्यक रहेको बताइन्। उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका विषयमा महिनैपिच्छे बैठक बसेर आवश्यक योजना बनाउनसमेत आग्रह गरिन्।

साहले आफू डेंगुबाट बिरामी भएर काठमाडौंमा उपचार गराउँदा चिकित्सकले सात दिन अस्पतालमा भर्ना भएर बस्न सुझाव दिए पनि सामाजिक सेवाप्रतिको प्रतिबद्धताका कारण जनताको सेवामा निरन्तर सक्रिय रहेको बताइन्।

उनले संस्कृत शिक्षाको संरक्षण तथा प्रवर्द्धनसँगै विद्यालयलाई व्यवस्थित र गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताइन्।

कार्यक्रममा कलैया उपमहानगरपालिका-३ का वडाध्यक्ष मोहन साह कानु, वडा नम्बर १ का वडाध्यक्ष मोहनबहादुर क्षेत्री, वडा नम्बर २७ का वडाध्यक्ष अशोककुमार तिवारी, मन्दिर संरक्षण समितिका अध्यक्ष मणिनन्द्रनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीलगायत शिक्षक तथा कर्मचारीको उपस्थिति थियो।

Leave a review