सीमा सुरक्षासँगै राजश्व वृद्धि
सीमामा हुने लागू औषधको कारोवार, चोरी, निकासी र पैठारी रोकेर राजश्व चुहावट रोक्न सशस्त्र प्रहरीले योगदान गरिरहेको छ । चालू आवको गत माघसम्ममा १३० बिओपीका कारण रु ६२ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ । प्रति नौ किलोमिटरमा बिओपी राख्न थालिएपछि सुरक्षाकर्मीले पैदल गस्ती गर्न पनि सहज भएको छ । नेपाल र भारतका सशस्त्र प्रहरीको गत वर्ष पोखरामा सम्पन्न संयुक्त बैठकको सहमतिअनुसार दुई देशका २० सीमा नाकामा सहयता कक्षा स्थापना गर्दा दुवैतर्फ अपराध र चोरी पैठारी घटेको छ ।
दुई देशकै सहमतिमा सीमाका विभिन्न ५४ स्थानमा सर्भिलेन्स (सिसी क्यामरा) जडान गर्ने कार्य पनि भइरहेको छ । सहायता कक्षले दुवैतर्फ सीमा मिचिएमा पनि एकापसमा सूचना आदान प्रदान र सहजीकरण गर्नेछ । तेस्रो मुलुकका नागरिक प्रवेशाज्ञा विना आवागन गरेमा पनि रोकावट हुनेछ । चीनसँग जोडिएका नाकामा पनि यही प्रबन्ध गरिएको छ । बिओपीलाई समय समयमा प्रधान कार्यालयबाट पनि अनुगमन हुने गरेको छ भने बाहिनी, गण हुँदै गुल्मले आवश्यक निर्देश गर्दै आएका छन् ।
कोरोना रोकथाममा पहल
महानिरीक्षक खनालले बलले कोरोना महामारीका सन्दर्भमा नागरिकलाई सुसूचित गराउन हालसम्म ३६ स्थानमा हेल्थ डेस्क स्थापना गरेको र नेपाल एपिएफ अस्पतालमा एक आइसियु सेवासहित छ वटा श्यया आइसोलेशनका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउन आवश्यक शान्ति सुरक्षा र सुशासनको वातावरण निर्माण गरी भ्रष्टाचारमुक्त समाज निर्माणमा आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । रासस