रञ्जन यादब /
मोटरसाईकल चोरी कार्यमा संलग्न चार जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सिमरा बाराले मोटरसाईकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर १ का २० बर्षिय क्रसाम चौधरी र १८ बर्षिय अरुण चौधरी छन।
त्यस्तै कोल्हबी नगरपालिका वडा नं.५ बस्ने १९ बर्षिय बृज किशोर चौधरी र २१ बर्षिय दिलीप चौधरी रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । चारै जनालाई प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित नेपाल दुरसञ्चार अगाडिको गेटबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिईएका छन ।
उनीहरुले असार ७ गते वीरगंज महानगरपालिका वडा नं.९ रानीघाट बस्ने प्रिन्स कुमार गुप्ताको घर अगाडि पार्किङ गरी राखिएको ना. ५१ प ९३९४ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल चोरेका थिए ।
बिशेष सुचनाको अधारमा गएको प्रहरीको टोलीले मोटरसाईकल बिक्रि गर्न आएका चारै जनालाई एकै साथ पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।