बाराको निजगढमा रहेको गौरीशंकर माध्यमिक बिद्यालय सामुदायिक बिद्यालय कार्यसम्पादन मुल्याङ्कनमा जिल्लामा उत्कृष्ट भएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले बारामा गरेको कार्यसम्पादन परिक्षणमा गौरीशंकर माध्यमिक बिद्यालय निजगढ ७९.५७ अङ्क ल्याई पहिलो ,नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय सिमरा ७१.७१ अङ्क ल्याई दोस्रो र गौरीशंकर माध्यमिक बिद्यालय सड्क टोल ७१.१५ अङ्क ल्याइ तेस्रो भएका छन् ।
यी तीन वटा सामुदायिक बिद्यालयहरु कार्यसम्पादनमा मध्यम स्तरमा परेका छन् । विज्ञहरू खटाएर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत बिद्यालयहरुको अध्ययन गरेको थियो ।
देशभरि ४ हजार ८ सय ६७ सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा ६ वटा उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजारवटा सामान्य र ७१ ओटा कमजोर विद्यालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बारा जिल्ला भरिमा ८५ ओटा सामुदायिक माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालय मध्यम स्तरमा परेका हुन् ।।बारा जिल्लाका ६ वटा सामुदायिक माध्यमिक विद्यालय कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य विद्यालय भने सामान्यमा परेका छन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले बिद्यालयहरुको कार्यसम्पादन मुल्याङ्कन गर्दा बिद्यालयको भौतीक संरचना ,समुदायको सहभागिता ,शिक्षण सिकाई प्रक्रिया ,शैक्षिक उपलब्धि ,नेतृत्व ब्यवस्थापन लगायत क्षेत्रको मुल्याङ्कन गरेको थियो ।


