Sajhedari Daily
Latest News from Nepal

लगातारको वर्षाले बाढी, डुवान र नदी कटानले रौतहटका बासिन्दा त्रसित, अधिकांश भू भाग डुवानमा

Top Aside Banner

ओम प्रकाश यादव ।

गएको तिन दिनदेखि लगातार भइरहेको बर्षाले रौतहटका अधिकांश भू भाग डुबानमा परेको छ । अविरल वर्षाका कारण जिल्लाका हजारौ हजार विघा क्षेक्रफलमा हालै रोपिएको धान खेती पुर्ण रुपमा डुवानमा परेको छ भने वर्षा र बाढीको पानीले जिल्लाका अधिकांश सडकहरु जलमग्न हुँदा यातायात सेवा अवरुद्ध भएको छ ।

वर्षाले जिल्लाका अधिकांश भू भाग डुबानमा परिसकेको छ । वर्षाले जिल्लाका विभिन्न नदीहरुमा आएको बाढी गाउँ बस्तीमा पसेको छ जस्का कारण गरुडा, गढिमाई, देवाही गोनाही, माधवनारायण, राजपुर, परोहा, गौर लगाएतका स्थानीय तहका अधिकांश वडाहरु डुवानमा परेको छ । जिल्लाको झाँझ सहितका नदीमा आएको बाढी वस्तीसम्म पुगेको छ ।

यसैविच अविरल वर्षाले जिल्लाका बागमति, लालबकैया, झाँझ, चाँदी लगाएतका नदीहरुमा ठुलो बाढी आएको छ । यी नदीहरुमा पानीको सतह लगातार बढदै गएको छ । आइतबारदेखि जारी रहेको बर्षाका कारण यस जिल्लाका नदीहरुमा पानीको सतह बढ्दै जाँदा नदी तटीय क्षेत्रका बासिन्दाहरुमा बाढीको त्रास समेत उत्पन्न हुँदै गएको छ । नदीको बाढी गाउँ बस्तीमा पस्न सक्ने भन्दै स्थानीयहरु त्रसित भएका छन ।

जिल्लाको पुर्वी भेग स्थित रहेको बागमति र पश्चिमी भेग स्थित रहेको लालबकैया नदीले ठाउँ ठाउँमा बाँध कटान समेत गर्न थालेकोले स्थानीयहरु झन त्रसित भएका हुन । बागमती नदीमा आएको बाढीले गढिमाई नगरपालिकाको धर्मपुर, माधवनारायण नगरपालिकाको माधोपुर र राजदेवी नगरपालिकाको बस्तपुर घाट स्थित बाँध कटान गर्न शुरु गरेको छ । नदीले माधोपुर र बस्तपुर घाटको बाँध उच्च जोखिममा रहेको छ ।

बाढीले कटान गर्दा गर्दै धर्मपुर र माधोपुर घाट स्थित बाँधको नजिकसम्म आइपुगेको छ । तुरुन्त यस ठाउँको नदी कटानलाई नियन्त्रण गर्न सकिएन भने अझै केहि दिन यस्तै वर्षा जारी रहे धर्मपुर र माधोपुर स्थितको बाँध कटान गर्ने र बाढीको पानी मानवबस्तीमा प्रवेस गरी ठुलो जनधनको क्षति गर्न सक्ने खतरा बढेको छ ।

त्यस्तै नदीले बस्तपुर घाटको स्पर कटान गर्न फेरु शुरु गरेको छ । यसभन्दा अघि आएको बाढीले बस्तपुर घाटको स्पर कटान गर्दा त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दा गर्दै बागमति नदीमा फेरी आएको बाढीले उक्त स्पर कटान गर्न थालेपछि राजदेवी नगरपालिकाका वडाहरु उच्च जोखिममा परेको छ ।

त्यस्तै लालबकैया नदीले पनि ठाउँ ठाउँमा बाँध कटान गर्न शुरु गरेको छ । नदी कटानलाई समयमै नियन्त्रण गर्न सकिएन भने बाढीले विगतका वर्ष झै यस वर्ष पनि पुरै रौतहट जिल्ला नै डुवानमा पर्ने र ठुलो जनधनको क्षति हुन सक्ने जोखिम रहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नदी कटान रोक्ने काम भइरहेको बताउनुभएको छ ।

बाढी बाट हुने जोखिम न्यून गर्न अथवा समस्यामा परेकालाई उद्वार गर्न मोटर बोट,प्लास्टिक र काठको डुङ्गा सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एकसयभन्दा बढी जवान २४ औं घण्टा तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

कटान भइरहेको बांध मर्मत गर्ने काम शुरु भइसकेको उहाँले बताउनुभयो । यता जिल्लामा डुवान तथा कटानले क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले यसभन्दा अघि नै सबै जिल्लाबासीलाई सचेत गराइसकेको छ ।