रञ्जन यादव
बारा प्रहरीले चार महिनापछि एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई भारतबाट पक्राउ गरी सार्बजनिक गरेको छ ।
बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पती पत्नीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवी रहेको बारा प्रहरीले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनिहरुलाई नेपाल–भारत सिमा क्षेत्रबाट बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन । घटनापछि रौशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए ।
भारत प्रहरीसंगको समन्वयमा पक्राउ गरिएका उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । पक्राउ परेका दम्पतीले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए ।
डिस ‘केवल’ को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनिहरु फरार भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । मृतक महेश र कैलाशकी पत्नी रौशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार महेश र रौशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहदै आएका थिए ।
घटनाको दिन महेश र रौशनीबीच इटियाहीमा भेट्दै गर्दा पति कैलाश आएको र सोही समयमा विवाद भएपछि पतीपत्नी मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए । दुवैजना लिभिङ टुगेदरमा बस्दै आएका थिए । दुवैबीच विवाह हुने कुरा समेत भएको थियो ।
तर रौशनी विवाहित भएका कारण महेशका परिवारले मानेका थिएन्न । रौशनी र महेश मंसिर २७ गते भेट गरिरहेको स्थानमा कैलाश पुगे र सोही क्रममा विवाद भएपछि दुवै पतीपत्नी मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।