राम मण्डल/
नयाँ नागरिकता ऐनअनुसार आईतबारदेखि नागरिकता वितरण हुने भएको छ ।
जिल्लामा आईताबरदेखि नै नयाँ नागरिकता ऐन अनुसार नागरिकता बितरण गर्ने तयारी गरिएको छ । सर्बोच्च अदालतले नागरिकता समबन्धि मुदामा बिहीबार अल्पकालिन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकता समबन्धि बिबाद टुँगिएको छ । सरकारले ल्याएको नयाँ ऐन सक्रिय भएसंगै अब बारा, पर्सा सहित देशभर जन्मसिद्धका सन्तानले बँशजका आधारमा नागरिकता पाउने बाटो खुलेको छ ।
पर्सामा पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर नयाँ नागरिकता ऐन अनुसार नागरिकता बनाउदा चाहिने कागजातहरु बारेमा जानकारी दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा नयाँ नागरिकता ऐन अनुसार चाहिने कागजातहरुको बिबरण जानकारी गराइएको छ ।
नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्र लगायतका कागजातहरु चाहिन्छ ।
जिल्लामा शुक्रबारदेखि नै फर्म संकलन गर्ने कार्य शुरु भएको र आईतबारदेखि नागरिकता बितरण गरिने तयारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए । ‘उनले शुक्रबार फर्म संकलन गरिएकाहरुलाई आईतबार बोलाइएका बताए।
सर्वोच्चको आदेशसंगै जन्मसिद्ध नागरिकता भएका आमाबुवाको लाखौ सन्तानहरुले नागरिकता पाउने भएपछि देशभर खुसीयाली मनाएका छन ।

