बजेट सिध्याउने नाउमा हत्तार हत्तारमा काम गर्दाको परिणमा करौडौ बजेट खर्चेर वीरगञ्जमा गरिएको कालोपत्रे हप्ता दिनमै उप्किएको छ ।
करोडौ बजेट लगाएर वीरगञ्ज महानगरपालिकामा रहेको जगरनाथपुरदेखि मिलन चोकसम्मको सडकमा कालोपत्रे गरिएको एक हप्तामै उप्किएको हो । महानगरको वडा नम्बर २२ को जगरनाथपुरदेखि वडा नम्बर ३१ स्थित मिलनचोक सडकखण्डमा गरिएको कालोपत्रे एक हप्तामै उप्किएकोे हो ।
९ किलोमिटर सम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी शारदा अमित निर्माण सेवाले हतार हतारमा कालोपत्रे गर्दा एक हप्ता पनि कालोपत्रे टिक्न नसकेको हो । गत आर्थिक बर्ष ०७९÷८० को अन्तिम महिना असारमा ठेकेदार कम्पनीले उक्त सडकखण्डमा कालोपत्रे गर्न शुरु गरेको थियो ।
ठेकेदार कम्पनीले तीन करोड चालीस लाखमा कालोपत्रे गर्ने ठेक्का साकार गरेको थियो । आर्थिक बर्षको अन्तिम महिना भएकोले भुक्तानी पाउनको लागि ठेकेदारले फटाफट दिनरात लगाएर काम गरेको थियो ।तर,ठेकेदारले गरेको काम भने असारे बिकाशको नमुनामा परिणत भएकछ ।असार अन्तिम सातातिर गरेको कालोपत्रे एक हप्ता पनि नबित्दै उप्किएको छ ।
यो मात्र होईन महानगरको वडा नम्बर ३१ मिलन चोक र वडा नम्बर ३० लालपर्सा चोकदेखि जगरनाथपुर सम्म कालोपत्रे उप्किएको छ । अहिले करिब दुई किलोमिटर कालोपत्रे उप्किएको छ । जगरनाथपुरदेखि लालपर्सासम्मको एक किलोमिटर सडकमा कालोपत्रे उप्किएको तथा पिच राम्रोसित नै नगरिएको वडा नम्बर ३० का कन्हैया पासवानले बताए ।
उनले ठेकेदार र सरकारको लापारवाहीका कारणले कालोपत्रे भएको सडकमा पनि आवत जावत गर्नमा समस्या भएको तथा गाडीहरु आउदा कालोपत्रे उप्किने गरेको बताए । कालोपत्रे गर्ने बेलामा नै गुणस्तरहीन काम ठेकेदारले गरिरहेको हेरेपछि आफुले ठेकेदारलाई पनि कार्यालयमा बोलाएर राम्ररी कालोपत्रे गर्न भनेको तर पनि राम्रो नगरेको वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले बताए ।
बर्षेनी जगरनाथपुर मिलन चोक सडक खण्डमा कालोपत्रे को नाममा यसरी नै बजेट सिध्याउने काम भईरहेकोले सडक बिभागले तत्काल यसमा कारवाही गर्नुपर्ने बताए । मेरै वडामा ठेकेदार राम्रो कालोपत्रे नगरेको देखे मैलै ठेकेदारलाई बोलाएर पनि भनेको हु राम्रो गर्नको लागि तर गरेन,उनले भने,अहिले मेरै वडामा एक किलोमटिरसम्मको कालोपत्रे सडक उप्किएको छ ।
ठेकेदार कम्पनीले सडकमा कालोपत्रे गरेको भुक्तानीमध्ये २० लाख बाँकी रहेकोले उप्किएको सडक तत्कालै बनाउन ठेकेदारलाई भनेको सडक बिभाग हेटौडाका प्रमुख राजेश यादवले जानकारी दिए । उप्किएको सडक नबनाएर ठेकेदारको बाँकी २० लाख रुपैया रोक्का राख्ने यादवले बताए ।

