पचरौता वडा नम्बर ४ का वडा अध्यक्ष यादव परे निलम्बनमा,पाँच लाख चौतीस हजार एक सय सतासी रुपयाँ विगो दाबी

साझेदारी दैनिक
368 पाठक संख्या

बाराका अर्का एक वडा अध्यक्ष निलम्बनमा परेका छन । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कन्हैयालाल यादव निलम्बनमा परेका हुन ।

वडाअध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न निर्देशन गरेको हो ।

यादवले बाटो भएको जग्गालाई बाटो नभएको भनेर गलत घरबाटो सिफारिस गरेको अभियोगमा अख्तियारले आरोपपत्र सहित विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता गराएको थियो । वडाअध्यक्ष विरुद्ध मुद्दा दर्ता भएपछि अख्तियारले पचरौता नगरपालिकालाई पत्राचार गरेर जानकारी गराएको छ ।

वडा अध्यक्ष यादवले साविकको वेलदारी गाविस स्थित कित्ता नम्बर १७३ को ०–९–५ क्षेत्रफलको जग्गाको बिक्रीकर्ता र खरिदकर्ता समेतको मिलेमतोमा बाटो भएकोलाई पनि बाटो नभएको भनि सिफारिस गरेर नेपाल सरकारलाई प्राप्त हुने राजस्व बापतको रकम चुहावट गरेर भ्रष्टाचार गरेको देखिएकोल अख्तियारले भ्रष्टाचार सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगले फागुन २४ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (३) तथा दफा (९) बमोजिम हुने मागदावी सहित मुद्दा दर्ता भएकोले उनी स्वतः निलम्बनमा परेको भन्दै नगरपालिकालाई अख्तियारले पत्र सहित जानकारी गराएको छ ।

अख्तियारले यादव विरुद्ध रु पाँच लाख चौतीस हजार एक सय सतासी रुपैयाँ राजश्व छली गरेको माग दावी सहित मुद्दा दायर गरेको छ ।

जग्गा बिक्रीकर्ता बिध्या यादवले जग्गा बिक्री गर्दा पुँजीगत लाभकर दाखिला गर्नुपर्नेमा निजले घरबाटो सिफारिस लिँदा उक्त जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन रहेको भनी वडा कार्यालयमा निबेदन दिई गलत घरबाटो सिफारिस गरी गराई पुँजीगत लाभकर बापत रु. पाँच लाख चौतीस हजार एक सय सतासी रुपैया बराबरको राजश्व रकम कम तिर्ने मनसायले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिँदा निजलाई उक्त रकमको बिगो कायम गरीएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

Leave a review