प्रहरीले लागु औषध सहित तीनजनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा नौगछियामा बीआर २२ एई ६७४० नम्बरको मोटरसाईकल जाँच गरेको थियो ।
जाँचाको क्रममा चालक जगरनाथपुर गाउँपालिका–५ सुहपुर बस्ने बर्ष ४५ को हिरामन यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवले बोरामा ल्याएको १० किलो लागु औषध गाँजा बरामद गरेको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।
यसैगरी वीरगञ्ज–.१६ ईनर्वागाउँ चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवन कालिका नगरपालिका–.६ बस्ने वर्ष १९ को सुजन तिवारीको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र वडा नम्बर ३ बस्ने वर्ष १९ को शक्ति परियारको साथबाट लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
लागुऔषध र गाँजासहित पक्राउ परेका तीनैजनालाई लागुऔषध कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


