कलैया । धनुषा प्रहरीले चार सय ७५ किलो लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले गाडीका चालक तथा सहचालक सहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा गाडीका चालक धादिङ्ग बेनिघाट रोलाङ गाउँपालिका वडा नं. १ मा बस्ने २४ वर्षीय बिराज गुम्बा रहेका छन्। यस्तै बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय रोहित चमार पक्राउ परेका छन्।
पूर्वबाट पश्चिम धनुषा जिल्लाको बिरेन्द्रबजार तर्फ प्र.३–०१–०२४ च ८३२५ नम्बरको तरकारी बोक्ने योद्धा पिकअप गाडीमा ठूलो परिमाणमा लागु औषध गाँजा ल्याउँदै गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केबारका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वको टोलि सक्रिय भएको थियो।
गाडी खोजतलास गर्ने क्रममा मंगलबार बिहान जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं.४ वीरेन्द्रबजार स्थित सडक छेउमा रोकी राखेको अबस्थामा उक्त गाडी फेला परेको थियो। यसपछि प्रहरीले गाडीको चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो।
ऊनीहरूलाई सोधपुछ गर्दा निजहरूले घरानबाट उक्त गाडीमा लागु औषध गाँजा लोड गरी माथिबाट बन्दाकोबीले छोपी जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं. ३ जोगियारा स्थितमा रहेको सोहि बस्ने हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा लगि अनलोड गरेको भनि बताएका थिए।
तत्कालै उक्त स्थानमा खटि गई चेकजाँच गर्दा तयारी ईट्टाको चाडको बिचमा त्रिपालले छोपि राखेको अबस्थामा १९ पोकामा ४७५ किलोग्राम (१ पोकामा २५ केजीको दरले रहेको) लागु औषध गाँजा फेला पारी बरामद गरिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।