पछिल्लो एक हप्तादेखि तराईका जिल्लाहरुमा चिसो बढदै गएको छ ।
चिसोका कारण पर्सा,बारा सहित तराईका जिल्लाहरुको समान्य जनजीवन प्रभावित भएको छ । बढदै गएको चिसोसंगै अहिले शितलहर पनि चल्न थालेको छ । जस्को कारण गरिब असहाय दलित तथा विपन्नबर्ग बढी प्रभावित भएका छन् ।
आर्थिक अवस्था कमजोर भएका गरिब दलित परिवारहरुलाई अहिले घरबार नहुनु तथा पर्याप्त कपडा नहुदा उनीहरुलाई समस्या भएको छ ।
मौसममा परिवर्तनसंगै चिसो बढेर शित खस्न थालेको छ । यसपछि दलित बस्तीका दलित र गरिबहरुलाई खान लगाउनमा समस्या रहेको छ ।
अहिले रातिमा सुत्न र दिनमा पनि जीवन बिताउन कठिन हुदै गएको छ ।
दलित बस्तीका बासिन्दाहरु एउटा घर बालेर २० देखि २५ जनासम्म ताप्ने गरेको पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ का परमानन्द राम बताउँछन्। जाडोको लागि उनीहरुसित घर पनि जाडो छेक्ने खालको नभएको उनले बताए ।
जाडो बढेपछि आफुसित भएका कपडाहरु पर्याप्त मात्रामा मानिसहरुले लगाउन थालेका छन् । तर कपडा नहुने गरेका गरिब दलितहरु भने जाडोमा कठ्याग्रिएर बस्नुपर्ने बाध्यता रहेको दलित अगुवा मनोज राम साझेदारी दैनिकलाई बताउँछन ।
यस्तो बेलामा अन्य समुदायका मानिसहरु भन्दा दलित बस्तीका मानिसहरु बर्षेनी बढी प्रभावित हुने गरेको उनले बताए ।
दलितहरुसित अहिले पनि फुस र टिनको घर भएका कारणले तथा चिसो भुईमै सुत्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
उनले दलित र गरिबहरुको चिसोमा बढी प्रभावित भएको रामको भनाई छ ।चिसो बढदा स्थानीय सरकारले समेत हालसम्म चिसोबाट बच्न दलित बस्तीमा कुनै किसिमको राहतको ब्यवस्था नगरेको उनको भनाई छ ।
पछिल्लो एक हप्तामा पर्सा बारासंगै तराईका जिल्लाहरुमा ह्वातै चिसो बढेर शितलहर पनि चल्न थालेको छ । यस्तो अवस्थामा गरिब दलित सँगै हरेक बर्गका मानिसहरुको दैनिकी प्रभावित भएको छ ।
चिसोबाट सकेसम्म बच्नुपर्ने तथा आफनो र परिवारलाई पनि बचाउनु पर्ने नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिँहको भनाई छ ।

