जीतपुरसिमरा उपमहानगर क्षेत्रका सडक खाद्य बस्तु (स्ट्रिट फुड) ब्यवसायीलाई पथलैयामा खाना स्वच्छतासम्बन्धी जानकारी प्रदान गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साको आयोजना र होटल तथा पर्यटन ब्यवसायी संघ बाराको सहकार्यमा कार्यक्रम गरिएको हो ।
स्ट्रिट फुडहरु पस्कने र तयार पार्ने स्वच्छ विधिलाई अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख सुशिल कुमार सिँहले जानकारी दिए ।
सडकमा मानिसहरुको ओहरदोहरका क्रममा खानामा संक्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवसायीलाई प्रोत्साहन गरिएको थियो ।
कच्चा पदार्थ किन्दादेखि ग्राहकलाई पस्कदासम्म हानिकारक तत्वहरु खानेकुरामा आउन सक्ने भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे कार्यक्रममा सिकाइएको होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालले बताए ।
सफा पानीको प्रयोग,खाना कसरी भण्डार गर्ने,झिङ्गाबाट कसरी जोगाउने,तापकम व्यवस्थापन,दैनिक सरसफाईलाई मुख्य विषयवस्तुमा अन्तरक्रिया पनि गरिएको थियो ।
प्रिन्टिङ पेपरमा खानेकुरा खाँदा क्यान्सरको जोखिम हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख सिँहले जानकारी दिनुभयो ।न्युज पेपरहरुमा चटपटे,पानीपुरी लगायतको प्याक गरेर खाने चलन छ। त्यसलाई तुरुन्तै हटाउनुपर्ने आवश्यक्ता औल्याउँनुभयो ।
मालपुवा, सेलरोटी र समोसाहरु पनि प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख सिँहले प्रिन्टिङ्ग पेपरमा खानेकुरा दिनुभन्दा रुखको पत्ताहरुको प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले खाना तयार गर्दा सरसफाईका आधारभूत कुरा मात्र अपाउन सकिए पनि स्वच्छ खानेकुरा आम उपभोक्तालाई पस्किन सकिने जानकारी दिनुभयो ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मानिस वा ठाउँको पहिचान त्यहाँ उपलब्ध खाने कुराले गराउँने गरेको बताए । उनले स्ट्रीट फुड ब्यवसायीहरुलाई स्वच्छ खाने कुरा बिक्री बितरण गरी आफनो र आफनो ठाउँको पहिचान गराउँन अनुरोध गर्नुभयो ।
त्यस्तै होटल ब्यवसायी तथा भिमेश्वर मध्यवर्ति सामुदायिक बनका अध्यक्ष पेशल कुमार मुल्मीले ग्राहकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ब्यवसाय गर्न अनुरोध गर्नुभयो । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखि मन जितन सकियो भने ब्यवसायमा कहिले असफलता प्राप्त नहुने जानकारी दिनुभयो ।
कार्यक्रममा करिब ५० जना स्ट्रीट ब्यवसायीहरुको सहभागिता रहेको थियो ।केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फूडहरुको प्रयोग गर्ने चलन छ ।
खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।


