लक्ष्मी खरेल/
रातको समयमा घरमा टिपरले हानेर ज्यान मार्ने योजना गर्नेका विरुद्ध कारवाही नभएको भन्दै सिमरा बजनीका प्रविण पाण्डेले आक्रोस पोखेका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३, बजनी स्थित आफु सुत्ने गरेको घरमा राति टिपरले ठोकर दिनु संयोग नभई सुनियोनित ज्यान लिने प्रयास भएको भएपनि सम्बन्धित निकायले न्याय नदिएको भन्दै पाण्डेले आक्रोश पोखेका हुन् । भत्केको घर अगाडी नै सोमबार पत्रकार सम्मेलन गर्दै पीडित परिवार सहितका स्थानीयले दोषीलाई कारबाही गरेर न्यायको प्रत्याभुती गराउन माग गरेका हुन् ।
“मेरो छोरो सँधै यहि सटरमा सुत्थ्यो, कर गरेर हामीकहाँ बोलाएको समय परेछ, नत्र टिपरले हानेर घर भत्काउँदा मेरो छोरो” भन्दै भक्कानिए प्रविणका बुवा लाल बहादुर पाण्डे । ज्यानै लिने उद्देश्यले घटाइएको घटनामा संग्लन भएको भन्दै प्रहरीमा जाँदा पनि आरोपी उपर कुनै कारबाही नहुँदा थप अन्यायमा परेको पाण्डेले गुनासो गरे ।
पाण्डे लगाएतका १५ परिवारको बसोबास रहेको सो जग्गा उपर पटक पटक किर्ते गर्ने तथा उक्त जग्गाबाट उठिबास लगाउने प्रयत्न गर्ने व्यक्ति जग्गा कारोबारी ईच्छाबहादुर वाग्लेकै योजनामा पाण्डेको घरमा टिपर चलाएको आशंका विरुद्ध प्रहरीले वाग्लेलाई कारबाही नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
होटल व्यवसायी समेत रहेका वाग्लेले पटकपटक जग्गा छाडेर अन्यत्र जान दवाव दिएको तर आफुले नमानेको कारण घर भत्काएको हुन सक्ने पाण्डेको आशंका छ ।
वाग्लेका कारण पाण्डे परिवार मात्रै नभएर रेल्वे लाइन र हाइवे बिचको नंबरी ९ कट्ठा ९ धुर भित्र बसोबास गर्ने १५ घरपरिवारलाई नै जनधनको डर रहेको चन्द्र बहादुर थापाले बताए । वाग्लेलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गत साता नै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका थिए ।
पीडित पक्षका अनुसार साउन ९ गते बिहानी राति करिब ३ बजेको समयमा लालबहादुर पाण्डेको घरमा नियोजित ढंगले टिपर प्रयोग गरेर तोडफोड गरिएको थियो । उक्त घटना बारे पाण्डे परिवारले ईच्छाबहादुर वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । पाण्डेको घरसँगै आरोपी वाग्लेको प्लटिङ्ग छ ।
‘विपक्षी ईच्छाबहादुर वाग्लेले अन्य मान्छे लगाइ मेरो निजी जग्गामा बनेको पक्की घरमा टिपरले पटकपटक ठक्कर हानी पर्खाल, सटर भत्काई ९ लाख बिगो सम्पत्ति नास गरेर ज्यान मार्ने धम्की दिएको कुरा यसै पत्र साथ पेस गरेको छु,’ पीडित पाण्डेले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ, ‘विपक्षीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कैद, सजाय र पीडितलाई क्षतिपूर्ति भराई पाउँ ।’
साउन ९ गते राति भएको घटनाबारे प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको छ । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि रातो रङको एउटा स्कुटर र ईच्छाबहादुर वाग्लेको गाडी उनकै सालो सन्दिप बस्नेतले चलाएको फुटेज भेटिएको छ ।
जसको आधारमा ईप्रका सिमराले शुक्रबार साँझ वाग्लेका सालो सन्दिप बस्नेतलाई नियन्त्रणमा समेत लिएको थियो । अनुसन्धानका लागि बस्नेतलाई नियन्त्रणमा लिएको क्षणभरमै प्रहरी संगठनकै उच्च अधिकारीबाट तत्काल छोड्न आदेश आएपछि प्रहरीले उनलाई छाडेको थियो ।
पाण्डेको घर भत्काउन प्रयोग भएको पहेलो रङको टिपरको नम्बर प्रस्ट नदेखिएकोले अनुसन्धानमा समय लागेको र सो टिपरको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । साथै इच्छा होटलका सञ्चालक वाग्लेले आफ्नो होटलमा जडान भएको सीसी क्यामराको फुटेज प्रहरीलाई दिन नमानेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिपबहादुर क्षेत्रीले बताए ।
‘घटनाबारे थाहा पाउने वित्तिकै होटलको सीसी क्यामेराको फुटेज माग्दा विभिन्न बहाना गरेर उहाँले दिनुभएन,’ ईप्रका सिमरा प्रमुख क्षेत्रीले भने, ‘हामि अनुसन्धानमा लागि परेका छौं, प्रारम्भिक चरणमा जग्गा विवादले घर तोडफोड गरेको हुनसक्ने देखिन्छ ।’
“जग्गा किचलोको विषयलाई लिएर बारा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै बेला पिडितले भने जस्तै टिपर लगाएर घर तोडफोड गरिएको हो भने यो कानुनी राज्यको उपहास हो ।”डीएसपी क्षेत्रीले भने ।
घरछेउमै वाग्लेको प्लटिङ भएकाले २०६८ सालदेखि पटक पटक विवाद हुँदै आएको पीडित पाण्डेको भनाइ छ । पीडित पाण्डे परिवारले वाग्लेले मार्ने उद्देश्यले रातमा टिपर प्रयोग गरेर घर भत्काएको दाबी गरेका छन् ।

