मृतक गोले परिवारलाई १० लाख क्षतिपूर्ति वापत रकम दिईने

रञ्जन यादव
272 पाठक संख्या

रडले छेडेर बाराको अम्लेखगंजमा मृत्यु भएका विद्यार्थी बालक लक्की गोलेको परिवारले क्षतिपूर्ति वापत रु.१० लाख रकम पाउने भएका छन् ।

नेपाल आयल निगमको अमलेखगञ्जस्थित प्रादेशिक कार्यालयमा विहीवार भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमती भएको हो ।

क्षतिपूर्ति रकमसंगै लक्कीका अभिभावक मध्ये एक जनालाई आयल निगममा रोजगारी र काजक्रिया खर्चवापत २५ हजार रकम उपलब्ध गराउने सहमती भएको जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिएका छन ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकको पेटीमा गाडेको पोलको रडमा छेडिएर स्थानीय ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको थियो ।

घरबाट विद्यालयका लागि निस्किएका लक्कीको टाउको निगमको कार्यालय अगाडी पोलमा भ¥याङ बनाउन राखिएको रडमा छेडिएको थियो ।

बालक गोले बुधवार विहान विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्न जाने बेला सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको थियो ।

बालक लक्की जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।

Leave a review

This will close in 0 seconds