बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीस्थित शाख स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएको छ् ।
उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द भएको हो । शाख स्टिलका प्रबन्धक राजु प्रसाद तिमिल्सिनाका अनुसार उद्योग बन्द हुदा करिब तीन सय मजदुर प्रभावित भएका छन् ।
उनीहरु बेरोजगार भएका छन् । शाख स्टिलले करिब २ वर्ष देखि आप्mनो उत्पादन बन्द गरेको थियो ।सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीको भनाइ छ ।
सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीहरू लामो समयदेखि असन्तुष्ट रहेका थिए । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।
भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएको उद्योग बन्द अवस्थामा पुगेको हो । कार्तिक मसान्तसम्मको तलब मजदुरहरुलाई दिएको र त्यसपछिको तलब दिन नसक्ने भन्दै मजदुरहरुलाई घर पठाईएको प्रबन्धक तिमल्सिनाले बताए ।
मजदुरहरुलाई घर पठाईएपछि मजदुरहरुले श्रम अदालतमा मुद्धा गरेका छन् । सरकारको नीतिपछि स्पञ्ज तथा फलामका कबाड गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ ।
प्रत्यक्ष रूपमा हामी ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा पुर्यौँ,जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन”,तिमल्सिनाले भने । “त्यस्तै आर्थिक मन्दी,पूर्वाधार विकासका काममा कमी,घर निमाणका कामहरु नहुँदा माग नभएको लगायतले पनि उद्योग चल्न सकेनन् ।
”एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्धक तिमिल्सिनाले जानकारी दिए ।नेपालमा स्क्राप गलाएर सेकेन्ड्री ब्लेडबाट छड बनाउँने उद्योग ६।७ वटा छ ।
नयाँ ब्लेटबाट छड बनाउँने उद्योग २४।२५ वटा रहेको शाख स्टिलका प्रबन्धक तिमिल्सिनाले साझेदारी दैनिकलाई जानकारी दिए । उनले कच्चा ब्लेटबाट छड बनाउँदा सेकेन्ड्री भन्दा ११ रुपैया महङ्गो पर्न जाने बताए ।
सरकारले कच्चा ब्लेट आयात गर्ने उद्योग र फलामका कबाड गलाएर ब्लेड बनाउने उद्योगहरूलाई सम्मान दृष्टिकोणले नहेरे सम्म उद्योग चल्न सक्ने अवस्था नरहेको प्रबन्धक तिमल्सिनाले बताए ।


