बाराको सिमरामा सारथी स्वरोजगार तथा बजारीकरण सँघको स्थापना भएको छ ।
बजारीकरणको समस्या झेलिरहेका स्थानीयको समस्यालाई सम्बोधन गर्न र स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारमुलक सिप सिकाउने उदेश्यले स्थापित संस्थाको बुधबार मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभयो ।
संस्थाको बजारीकरण र प्रवद्र्धन हुन नसकेका कारण स्थानीय स्रोतसाधनको प्रयोगबाट हुने उत्पादन, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेका हस्तकला बजारमा नदेखिएको भन्दै साँसद चौधरीले यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । संघको उद्घाटन कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ,अगुवा समाजसेवी अमृतलाल श्रेष्ठ, रमेश खरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष सरस्वती चौधरीले महिलाहरुलाई लक्षित गरि विभिन्न सीपमुलक तालिम गराउने,स्थानीय उत्पादनको प्रयोगबाट मानिसको दैनिक जीवनको प्रयोगमा आउने सामाग्रीको निर्माण गर्न सीप सिकाउने, स्थानीय संस्कृति झल्काउने हस्तकलाको निर्माण गर्न तालिम दिने र ती स्थानीय उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने बताए ।
संस्थाका अध्यक्ष सरस्वतीदेवी चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडाध्यक्ष चयन गुरुङ,देवी सापकोटा,अनिता चौधरी, रवीन्द्र खकुरेल, जीतपुरसिमरा उपमहानगरपालिका सामाजिक विकास शाखाकी प्रमुख दुर्गा न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संघकी सचिव अनिता लम्साल अधिकारीले गर्नुभएको थियो भने स्वागत संघकी उपाध्यक्ष मुना खरेलले गर्नुभएको थियो ।
त्यस्तै संस्थाले उद्घाटनको अवसर पारेर संघले बुधवार सिमरामा दुना टपरी गाँस्ने सीप प्रतियोगिताको आयोजना गरेको छ । संघको सिमरास्थित कार्यालयमा आयोजना गरिएको प्रतियोगितामा ३९ जना महिलाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा शान्ता घिमिरे प्रथम, विन्दाकुमारी फुयाल द्धितीय र तेजु सापकोटा तृतीय भएका छन् । उनीहरुलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी,पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा,सीता गुरुङ,संघकी अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगीलाई १५ वटा टपरी, ३० वटा बोहोता र १५ वटा दुना गाँस्न एक घण्टाको समय दिइएको थियो । सहभागीमध्येबाट तीन जनालाई प्रथम, द्धितीय र तृतीय पुरस्कार विजेताको रुपमा पुरस्कृत गरिएको हो । प्रतियोगिताको निर्णायकमा जीतपुरसिमरा वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङसहित देवी सापकोटा र दुर्गा रिजाल रहनुभएको थियो ।

