बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतको सिमरा क्षेत्रमा चोरीका घटनाहरु बढि रहेका छन ।
फितालो सुरक्षा व्यवस्थाका कारण सिमरा र आसपासका क्षेत्रमा दैनिकजसो चोरीका घटनाहरु भईरहेका छन ।
केही महिनाको अन्तरालमा यो क्षेत्रका आधादर्जन बैँक तथा वित्तिय संस्थाहरुमा चोरी भईसकेको छ ।
सिमरा, पथलैया र जीतपुर क्षेत्रमा दैनिकजसो दिनदहाडै सवारी साधनहरु पनि चोरी घईरहेका छन ।
यसरी दैनिक चोरीका घटना हुनुको मुख्य कारण शान्ति सुरक्षाको जिम्मा लिएका निकायहरुको अकर्मणीयता नै हो । प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पार्न नसक्दा चोरीका घटना भईरहेको जीतपुरसिमरा १ का एक स्थानीयले गुनासो गरेका छन ।
यसैवीच फेरी चोरीको घटना भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित सिमराको एक घरमा चोरी भएको छ । सो घरमा करिब १२ लाखको चोरी भएको हो ।
बिहिवार राति स्थानीय दिपेन्द्र मैनालीको घरमा चोरी भएको हो । उनको घर बाट नगदसहित करिब १०–१२ लाखको समान चोरी भएको मैनालीले साझेदारी दैनिकलाई बताए ।
घर धनी मैनालीको घरको मूल ढोकाको माथिको सिसा फुटाएर चोरहरुले सामान लगेको हो । घरबाट चोरहरुले करिब सात तोला सुन चाँदी, १९ हजार नगद ,एउटा एलईडी टिभी सहित १२ लाख मूल्य बराबरको सामान चोरी भएको उनले बताए । प्रहरीको फितलो सुरक्षाको कारण चोरहरुले आफ्नो घर बाट लाखौँको समान चोरी गरेको मैनालीले बताए ।
बारामा चोरीको घटना बढ्दै गएपछि स्थानीयहरुले प्रहरीको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्टी जनाएका छन् । प्रहरी प्रशासनको कार्य सम्पादनमा कमजोरी देखिएको र शान्ति सुरक्षामा चुनौती आएकाले स्थानीय प्रहरी कार्यालय पुगेर ध्यानाकर्षण गराएका छन् । बारा प्रहरीले सुरक्षा व्यवस्थापनमा कडाई गर्न सकेको छैन ।
यता ईलाका प्रहरी कार्यालय सिमराले चोरीको घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

