कलैया : बाराको सिम्रौनगढ नगरपालिकामा करारका कर्मचारीलाई दिएको भुक्तानी आर्थिक नियम विपरित भएको रहस्य खुलेको छ।
सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवार तत्कालीन कार्यालय प्रमुख महेश कुमार मिश्र र जय नारायणराय यादवको संलग्नतामा आर्थिक वर्ष २०८०/०८१ मा १६६ जना कर्मचारी करारमा राखि करोडौं रुपैयाँ भुक्तानी दिएको खुलेको हो। यसमा भ्रष्टाचार भएको आशंका समेत रहेको छ। करारका कर्मचारीलाई रू. २ करोड ९९ लाख ५६ हजार दुई सय नौ रुपैयाँ खर्च गरि व्यापक अनियमित गरेको आशंका रहेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था रहेको छ। तर पालिकाले विभिन्न पदमा १६६ जना कर्मचारीहरु करारमा राखि रू. २ करोड ९९ लाख ५६ हजार २ सय ९ रुपैयाँ खर्च भएको छ।
सोही ऐनको २०७४ को दफा ८३ (८) वमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रोसियन, चौकिदार, मालि, बगैंचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था ऐनले गरेको छ। स्थानीय तहले सहायक अधिकृत ५ जना, सहायक पाचौ ५ जना, सहायक चोथौ १५ जना, सुपरभाईजर १५ जना, स्विपर २२ जना, कार्यालय सहयोगी ५५ जना, हसचा १० जना, नगरप्रहरी १५ जना, अपरेटर१५ सामाजिक परिचालक १५ जना लगायतका लागि १६६ जनाको लागि बजेट व्यवस्थापन भई खर्च भएको लेखा परीक्षणमा देखिएको छ।
लेखापरीक्षणको क्रममा अन्य कर्मचारी पनि नियुक्त भएको जानकारी प्राप्त भएता पनि विवरण माग गर्दा पेश नगरेको जनाइएको छ। कानुनमा भएको व्यवस्था विपरीत अधिकृत ५ जना, सहायक पाचौ ५ जना, अपरेटर १५ जना, सहायक चौथो १५ जना नियुक्ती गरेको देखिएको छ। त्यसैगरी सुपरभाईजर १५ जना, कार्यालय सहयोगी ५५ जना नियुक्ती आवश्यकताको आधारमा भएको छ भन्न सकिने आधार नदेखिएको रिपोर्टमा उल्लेख छ।
आवश्यकता वेगर धेरै संख्यामा कर्मचारी नियुक्त गरी पालिकालाई थप व्ययभार पार्नु नियम सम्मत देखिदैन । यस प्रकारको कर्मचारी नियुक्ती दिने पदाधिकारीलाई जिम्मेवार बनाई आवश्यकता भएको पुष्टी गर्नुपर्दछ। साथै कानुनमा भएको व्यवस्था विपरीत कर्मचारी भर्ना गर्नेलाई आवश्यक कारवाही गरी दरवन्दी बमोजिमको कर्मचारी कायम गर्नुपर्ने भनिएको छ।
यस विषयमा बुझ्न खोज्दा नगर प्रमुख कलवार,कार्यालय प्रमुख मिश्र र यादवसंग सम्पर्क हुन सकेन ।

