जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ०२ स्थित ब्राईटर एकेड्मी,सिमराले आफनो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख राजन पौडेलले बदलिँदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिँदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए ।
उनले अवको युग भनेको सूचना र प्रविधिको युग भएकाले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको विचार राखेका थिए ।
ब्राईटर एकेडेमीका छात्रछात्राले आफ्नै हातले लेखेका पुस्तकहरु प्रदर्शन गरेका थिए । जसमा विद्यार्थीले आफ्ना रचना,सिर्जना र कलालाई प्रस्तुत गरेका थिए ।
विद्यालयका कार्यकारी निर्देशक उमेश चौहानको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा छात्रछात्राहरुले गीत,नृत्य,नाटकलगायतका विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल,वडा नं २ का कार्यवाहक अध्यक्ष उद्धव गौतम, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी,बकुलिया माध्यमिक बिद्यालयका प्रधानध्यापक धनञ्जय गौतम,शुभतारा बोर्डिंग स्कुलका नेत्रप्रसाद दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रिन्सिपल राजुकुमार कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहायक प्रिन्सिपल चन्दनकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

