त्रिवेणी स्पिनिङ्ग मिल्समा भिषण आगलागी,दुई करोडको क्षति

रञ्जन यादव
513 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागी भएको छ ।

सोमबार दिउसो करिब अढाई बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाको क्षति भएको छ ।

उद्योगमा भएको आगलागिबाट २५ सय के.भि.ए.को ट्रान्सफर्मरमा पुर्ण रुपमा क्षति पुगेको उद्योगको प्रशासकीय अधिकृत राजेश श्रेष्ठले साझेदारी दैनिकलाई जानकारी दिए ।

आगलागी भएको ट्रान्सफर्मरबाट आगो सल्किएर नजिकै रहेको सोहि क्षमता बराबरको अर्को ट्रान्सफर्मरमा आगलागी भएको श्रेष्ठले बताए । ट्रान्सफर्मरमा भएको आगलागिबाट करिब दुई करोड सम्मको क्षति भएको हुन सक्ने श्रेष्ठले अनुमान गरे ।

आगोलाई जीतपुरसिमरा उपमहानगरपालिकाको एक,कलैया उपमहानगरपालिकाको एक र वीरगंज महानगरपालिकाको २ गरी ४ वटा बारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरुको सहयोगले एक घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

उद्योगका ईलेक्ट्रिकल ईन्जिनीयर आलोककुमार सिँहले ट्रान्सफर्मरमा अचानक सानो आवाजआई केही सेकेन्डमा आगलागी फैलिएको बताए । ट्रान्सफर्मरको बाहिरी भागमा कुनै खराबी नदेखिएका कारण भित्रै तार सर्ट भई आगलागी भएको हुन सक्ने उनले अनुमान गरे ।

ट्रान्सफर्मर खोलिएपछि यसको यर्थाथ कारण थाहा हुने उनले जनाए । नयाँ ट्रान्सफर्मर जडान गर्न कम्तीमा पनि एक महिना लाग्ने ईलेक्ट्रिकल ईन्जिनीयर सिंहले बताए ।

पावर सप्लाईको अभावमा युनिट एक नम्बर डिपार्टको सम्पूर्ण काम ठप्प भई त्यहाँ कार्यरत ३ सय देखि ४ सय जना मजदुरको काम प्रभावित भएको छ ।

त्रिबेणी स्पिनिङ्ग मिल्समा करिब एक हजार पाँच सय मजदुर कार्यरत रहेका छन् । यहा चार वटा युनिट छ ।

Leave a review

This will close in 0 seconds