जेठ ५ गतेपछि लकडाउनको स्वरूप परिवर्तन, जोखिमका आधारमा क्षेत्र निर्धारण गर्ने उच्चस्तरीय समितिको निर्णय

साझेदारी दैनिक
612 पाठक संख्या

कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी समितिले लकडाउनका कारण नेपालमै रहेका जापान र हङकङका नागरिकहरूलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ ।

सचिव बिडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको जानकारी दिए ।

चार्टर्ड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषयमा भने उनले थप जानकारी दिएनन् ।

समितिले शुक्रबार स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरूसँग छलफल पनि गरेको छ ।

अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग छलफल भएको हो ।

छलफलमा विज्ञहरूले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाब दिएका छन् ।

आत्तिनुपर्ने अवस्थामा नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरूको सवालमा सम्बन्धित स्थानीय तहहरूमा क्वारेन्टाइनको उचित व्यवस्थापन गरी ल्याउनुपर्ने सुझाब पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।

चिकित्सा क्षेत्रका विज्ञहरूले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग पनि सल्लाह गर्न सुझाब दिएका छन् ।

Leave a review