नवराज चौलागाईं,/
निजगढबाट प्रहरीले दुई थान भरुवा बन्दुक सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलिया र अस्थायी प्रहरी चौकी भरतगंज सिंगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरीको कमाण्डमा खटेको प्रहरी टोलीले शुक्रबार राति निजगढ नगरपालिका वडा नम्बर १ का ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुईजना बाउ छोरा हुन । प्रहरी टोलीले उनीहरुलाई निजगढ नगरपालिका वडा नम्बर १ पिपलटारस्थित धन्सार खोला क्षेत्रबाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियाले बताउनुभयो ।
प्रहरी टोलीले उनीहरुको साथबाट दुई थान लोड भएको भरुवा बन्दुक,उक्त बन्दुकमा प्रयोग हुने ३५ थान छर्रा,७ थान फलामको टुक्रा र बारुद बरामद गरेको प्रहरी निरीक्षक थपलियाले बताउनुभयो ।