सिधाकुरा डट कम अनलाइनमा प्रकाशित ‘द डार्क फाईल’सञ्चार सामग्रीको ‘तथ्य जाँच नगरी’ सामग्री हटाउन प्रेस काउन्सिल नेपालले दिएको निर्देशन र सर्वोच्च अदालतको आदेशप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
युनियनका महासचिव दिलिप पौडेलले मंगलबार एकप्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता एवम् स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकासहित कानुनी राज्यको प्रत्याभूति गरेको जनाएका छन् ।
विज्ञप्तिमा संविधानमा सञ्चारको हक अन्तर्गत ‘सञ्चार माध्यमबाट कुनै श्रव्यदृश्य वा कुनै समाचार सामग्री प्रकाशन, प्रसारण गरे वा छापेबापत सञ्चार माध्यमलाई बन्द,जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन’ भन्ने प्रष्ट व्यवस्था गरिएको लेखिएको छ
स्वतन्त्र न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भन्ने मान्यतामा प्रेस युनियन दृढ रहेको विज्ञप्तिमा लेखिएको छ । स्वतन्त्र पत्रकारिता पनि लोकतन्त्रको प्राणवायु हो ।
न्यायपालिकाको स्वतन्त्रताको कुरा गरिरहँदा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतामाथि आँच आउने कुरा पनि स्वीकार्य हुन सक्दैन । संविधान प्रदत्त प्रेस स्वतन्त्रताको विषयमा सम्मानित अदालतको विशेष ध्यान जानेछ भन्ने हामीलाई विश्वास छ पौडेलले विज्ञप्तिमा लेखिएको छ ।
सञ्चार माध्यमले सार्वजनिक शिष्टाचारमा खलल नपुर्याउन र अदालतको अवहेलना गर्नु हुँदैन भन्नेमा युनियन प्रष्ट छ । सञ्चार माध्यमलाई सत्ताले प्रयोग गर्र्ने प्रवृत्ति पनि हाबी हुँदै गएको छ । न्यायालयले पनि स्वतन्त्र प्रेसको मर्मलाई आत्मसात गर्न कन्ज्युस्याइँ गरेको देखियो । लोकतन्त्रका लागि यी दुवै प्रवृत्ति घातक हुन् ।
सिधाकुरामा प्रकाशित सामग्रीको विषयमा सर्वोच्च अदाललले विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षकोसमेत विस्तृत अनुसन्धान गर्न आदेश दिनु स्वाभाविक छ । तर, सिधाकुरामा प्रकाशित सञ्चार सामग्री हटाउन आदेश दिनु,सामग्रीको विषयमा प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिए सोही कानुन कारबाही अगाडि बढाउन निर्देशन दिने आदेश दिनुलाई चाहिँ संविधानको मर्म र भावनासँग बाझियो भन्ने युनियनको बुझाइ रहेको पौडेलले विज्ञप्तिमा लेखिएको छ ।
सञ्चार माध्यममा प्रकाशित विषय फौजदारी कानुन अनुसार कारबाही हुन सक्दैन । सिधाकुरामा प्रकाशितसामग्रीको विषय अदालतमा प्रवेश गरेको छ । सो समाचारको सत्यतथ्यमा सम्बन्धित सञ्चारमाध्यम नै जवाफदेही हुनुपर्छ ।
यो विषयको अन्तिम किनारा लगाउँदा सम्मानित अदालतले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेसको मूल्य,मान्यतालाई आत्मसात गर्नेमा युनियन विश्वस्त छ ।
सञ्चार माध्यमले आचारसंहिता पालना नगर्दा सञ्चार क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठ्दै आएको छ यो चिन्ताको विषय हो ।
सञ्चार सामग्री प्रकाशन तथा प्रशारण गर्नु पूर्व तथ्य जाँच गर्न, पत्रकार आचारसंहिता पूर्ण पालना गर्न र पूर्वाग्रह नसाँध्न पनि सम्बद्ध सबैलाई प्रेस युनियनले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

