खडेरीको कारण मारमा बाराका किसान,रोपेका चैतेधान सुक्न थाले

सन्तोष पाण्डे
403 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरका किसान मानबहादुर पाख्रीनले झण्डै एक विगाहा क्षेत्रफलमा चैते धान लगाएका छन । धान रोपेको २० दिन भन्दा बढि भईसक्यो खाद हाल्न पाएका छैनन ।

पाख्रीनले धानमा खाद हाल्न नपाउनुको कारण धानखेतमा पर्याप्त पानी छैन । कुलो र बोरिङको पानीको पालो आउन सातदेखी पन्ध्रदिन कुर्नुपर्ने र पालो आएर पानी लगाएको एकदिनमै सुक्ने भएकाले धानमा खाद हाल्न नपाएको उनको गुनासो छ ।

यस्तो समस्या किसान पाख्रीनको मात्र होईन बारा जिल्ला सहित तराई मधेसमा चैते धान खेती गरेका सवै किसानहरुको साझा समस्या हो । लामो सयमदेखी खडेरीका कारण यतिखेर किसानहरु पिडामा छन । खडेरीले बारा सहित तराई मधेशका जिल्लाहरुमा बर्षा नहुदा जमिन सुख्खा भई ध्वजा ध्वाजा भएर फाटेका छन ।

पानी नपरेपछि किसानहरुले लगाएका चैते धान र मकैबाली सुकेर मर्न थालेका छन । महँगोमा जोताई, मल,विऊ खर्च गरेर लगाएको बाली सुकेर मर्न थालेपछि लगानी नै डुब्ने चिन्ता किसानहरुलाई परेको छ ।

चैते धान उत्पादनको हिसावले निकै प्रभावकारी हुदै आएको बारामा हरेक बर्ष धेरै किसानहरुले धान रोप्ने गरेका छन । सिँचाई सुविधा पुगेका र बोरिङको उपलब्धता भएका किसानहरुले जसोतसो गरेर धान रोपेका छन । तर धान रापेका किसानहरु खेतमा लगाएको पानी एकदुई दिनमै सुक्ने समस्याले गर्दा पानी लगाउदा लगाउदा हैरान छन ।

जमिन सुख्खा भएर हप्तामा दुई देखी तीन पटक सम्म पानी किनेर लगाउनु पर्ने भएकाले यो बर्ष चैते धानमा उत्पादन भन्दा लगानी बढि हुने देखिएको जीतपुरसिमरा वडा नम्बर १७ का किसान आईते सिंह वाईबा बताउछन ।

बाराका १६ वटा स्थानीयका प्रशस्त धान फल्ने खेत खडेरीकै कारण अझै जोतेका छैनन् । धान रोप्ने ठेगान नभएपछि खेत नजोतेको किसानहरुले बताए । समयमा पानी नपरेपछि धेरै किसानका खेत बाँझै छन्। ‘पानी पर्ने सम्भावना छैन।

खेत जोतेर मात्रै के गर्नु’ करैयामाई गाउँपालिका वडा नम्बर १ का अर्का एक किसानले भने–‘आकाशबाट पानी नपरेसम्म धान रोपाइँ सम्भव छैन।’

बोट विरुवाका लागि आकाशे पानी निकै पोषिलो र लाभदायी हुने हुदा अन्य बोट विरुवा,मकैबाली पनि फस्टाउन सकेको छैनन । खडेरीका कारण मकै बाली पनि मर्न थालेपछि किसानहरु थप पिडामा छन ।

‘आकाशे पानी नपरेपछि बाली नाली राम्रोसंग फस्टाउन नसक्दा खेत बाँझै हुने पिरले निकै समस्यामा छौं।’ बारा कोल्हवी ८ किसान रामचन्द्र सुवेदीले पिडा सुनाए ।

अहिले तराईका जिल्लाहरुमा दैनिक तापक्रम बढ्ने क्रममा छ । विहान १० बजेदेखी दिनभर तातो हावा चल्ने गरेकाले बाली नाली मात्र होईन मानव स्वास्थ्यमा नै निकै असर पुर्‍याएको छ । हावा र चर्को घामले बोटविरुवाहरु सुकेर मर्न थालेका छन ।

देशको कुल ग्राह्स्थमा कृषि उत्पादनले निकै महत्वपूर्ण भूमिका छ । यसरी सुख्खा खडेरीका कारण उत्पादन नै घट्ने भएकाले देशमा खाद्य संकट लगाएको समस्या आउन सक्ने कृषि विज्ञहरुको भनाई छ ।

TAGGED:
Leave a review

This will close in 0 seconds