सिपमुलक तालिम मार्फत युवा सशक्तिकरण गर्ने उदेश्यले बाराको सिमरामा सञ्चालित २१ दिने बेकरी बनाउने तालिमको समापन भएको छ ।
सूर्य नेपाल प्रा.लि.को आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्य नेपालले होटल ब्यवसायी संघको सहकार्यमा र बागमती एजुकेशन कन्सल्टेन्सिको सहयोगमा भएको तालिममा २० जना यूवाहरुको सहभागिता रहेको थियो ।
२०८१ साल बैशाख १९ गते देखि सुरु भएको तालिम जेठ १ गते सम्म सञ्चालन भएको थियो । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले स्थानीय तहले पनि निजी कम्पनीले सञ्चालन गरेको तालिमबाट पाठ सिक्नुपर्ने बताए ।
जीतपुरसिमरा उपमहानगरपालिका लगानीको प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले जनाए ।
उनले अहिलेको ब्यवसायहरु खस्किने अवस्थामा रहेकाले ब्यवसायीहरुलाई पनि तालिम दिनुपर्ने जनाए ।सूर्य नेपालका उद्योग प्रबन्धक सुरेश काजी श्रेष्ठले प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्नुपर्ने जनाए ।
बारम्बारको प्रयासले नै मानिसलाई स्थाई र सफल बनाउने भएका कारण यसलाई निरन्तरता दिन सल्लाह दिए । अगामी दिनमा पनि सूर्य नेपालले यस्ता तालिमको आयोजना गर्दै जाने प्रबन्धक श्रेष्ठले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो।
समापन कार्यक्रममा वडा नं.२ का अध्यक्ष धनबहादुर श्रेष्ठ,बागमती एजुकेशन कन्सलटेन्सी प्रा.लि.का अध्यक्ष भिम भुजेल,सूर्य नेपालका स्टेट म्यानेजर यज्ञबहादुर आले,होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी लगायतको सहभागिता रहेको थियो ।

