बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले किर्ते मुद्दामा अदालतबाट ४० हजार रुपैयाँ जरिवाना पाएकी बाराको कलैया उप–महानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ५७ वर्षकी मिना देवी साहलाई पनि पक्राउ गरेको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले कुटपिट मुद्दामा अदालतबाट पाँच हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोका बेलैया बस्ने अन्दाजी ५५ वर्षीय रहिम मियाँ अंसारीलाई पक्राउ गरेको छ ।
त्यसैगरी अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर बस्ने अन्दाजी ५० वर्षीय सार्की घलानलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।


